धरान उपमहानगरपालिका–१५ की ३४ वर्षीया छुङकु मगर (राई) को हत्या गरेको आरोपमा प्रहरीले ४१ वर्षीय पति महेन्द्र राई कात्तिक २३ गते गिरफ्तार गरेको छ ।
घरायसी विवादका क्रममा आरोपितले कात्तिक १८ गते कुटपिट गरी हत्या गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक २३ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको थियो ।
कात्तिक १८ गते घरायसी विवादका क्रममा आरोपितले कुटपिट गरेको र उपचारका लागि पीडित कात्तिक २२ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान(घोपा)मा भर्ना भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
घाइते छुङकु मगरको उपचारका क्रममा कात्तिक २३ गते मृत्यु भएपछि पीडित पक्षले प्रहरीमा दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको डिएसपी कुँवरले बताउनु भयो ।
शवको पोष्टमार्टम घोपामा कात्तिक २४ गते गरिएको र सोही दिन पीडित पक्षले शव बुझी सद्गत गरेको डिएसपी कुवँरले बताउनु भएको छ ।