INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै नगरपालिका र वडा कार्यालय बन्द गरिएका कारण सेवा प्रभावित

कर्मचारीलाई कार्यालय भित्रै थुनेर दुर्व्यवहार गरेको भन्दै कात्तिक ९ गतेदेखि पचरौता नगरपालिका कार्यालयमा ताला लगाइएपछि नगरपालिकाबाट प्रवाह हुने सेवा प्रभावित भएको छ ।

नगरपालिका तथा वडा कार्यालयबाट प्रवाह हुने सेवाहरू सिफारिस, दर्ता, कर, योजना, अनुगमनलगायत प्रभावित भएका छन् ।

पचरौता नगरपालिका–१ पिपरपातीमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन गर्न कात्तिक ८ गते विद्यालयमा अभिभावक भेला गरिएको थियो ।

अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति गठन गर्न सकेन । पचरौता नगरपालिका–७ का ५१ वर्षीय जलान्धर सिंह, सोही नगरपालिका–१ का ५० वर्षीय रामानन्दप्रसाद साह, सोही नगरपालिका–४ का ५२ वर्षीय सुरेशकुमार यादव, सोही वडाका ४० वर्षीय बैधनाप्रसाद यादव, सोही नगरपालिका–५का ४९ वर्षीय रामअयोध्या प्रसाद यादव, सोही नगरपालिका–१ का २० वर्षीय अधय सिंह, सोही वडाका १८ वर्षीय सुनिल पण्डित, सोही वडाका १८ वर्षीय प्रदिप साह, सोही वडाका २० वर्षीय अजरुदिन अन्सारी र  सोही वडाका १८ वर्षीय रोशन साहले विद्यालयका विद्यार्थीलाई नागपालिकाको कार्यालयमा बोलाएर कात्तिक ९ गते बिहान साढे ११ बजेदेखि साँझ ६ बजेसम्म कर्मचारीलाई कार्यालय भित्र बन्दी बनाएको कर्मचारीको आरोप छ ।

कर्मचारीलाई बन्दी बनाउनुका साथै आरोपितहरूले कार्यालयका सामग्री तोडफोड गरी नोक्सान गरेपछि नगरपालिकाले नै कामकाज ठप्प पारेको हो ।

कात्तिक १० गते नगरपालिकाका सबै कर्मचारीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर शान्ति सुरक्षाको माग गरेका छन् ।

ज्ञापनपत्रमा लेखिएको छ –‘नगरपालिकाका कर्मचारीलाई कार्यालयमा बसी कार्य गर्ने अवस्था छैन । सबै कमैचारी डर र त्रासमा रहेका छन् । घटनाको छानविन गरी दोषीमाथि कडा कारवाहीे नभएसम्म नगरपालिकाको कार्यालय र वडा कार्यालयहरू बन्द गरी सबै सेवा बन्द गरिएको छ ।’

सोही दिन नगर प्रमुख रमेशकुमार यादवले प्रेस विज्ञप्ति प्रकाशन गरी शान्ति सुरक्षा नभएसम्म कार्यालय बन्द रहने अनुरोध गर्नुभएको छ ।

कात्तिक १४ गते प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा सबै कर्मचारीको बैठकले दोषीलाई कारवाही नभएसम्म नगरपालिकाका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकामा सेवा लिन आउनु भएकी पचरौता नगरपालिका–५ की ७८ वर्षीया जैफा खातुनले कार्यालय बन्द हुँदा सिफारिस लिन नपाएको बताउनु भयो ।

सिफारिस नहुँदा बैङ्कबाट सामाजिक सुरक्षा भत्ता निकाल्न नपाएकाले औषधि किन्न नसकिएको गुनासो गर्नु भयो ।

सोही वडाकी ८० वर्षीय मोसाफ मियाँले पनि सिफारिस नपाउँदा समस्या भोगेको गुनासो गर्नु भयो ।

पचरौता नगरपालिका–५ का वडाध्यक्ष लक्ष्मी यादवले नगरपालिकाको कार्यालयले सिफारिस नदिने निर्णय गरेर कार्यालय बन्द गर्नुलाई गलत भएको प्रतिक्रिया दिनु भयो ।

सोही वडाका सचिव नगरपालिकाको कार्यालयको निर्णय अनुसार कार्यालय बन्द भएकाले खोल्ने आदेश नआएसम्म वडा कार्यालय बन्द रहने बताउनु भयो ।

नगर प्रमुख रमेशकुमार यादवले नगरपालिकाको कार्यालय र नौ ओटा वडा कार्यालयहरूमा प्रत्येक दिन सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या २ सय रहेको बताउनु भयो ।

‘१५ दिनदेखि नगरपालिकाको कार्यालय बन्द भएकाले नगरपालिकाको कार्यालय र सेवाग्रहीलाई धेरै समस्या भएको छ । नगरपालिकाको कार्यालयले तोकिएको समयमा कार्य गर्न सकेको छैन । नागरिकको सेवा बाध्य भएर बन्द गरेको छ । समयमा समस्याको समाधान नभएमा नागपालिकाको कार्यालय र नागरिकलाई धेरै ठूलो समस्या आउँछ ।’–नगर प्रमुख यादवले भन्नु भयो ।

पचरौता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादवद्वारा कात्तिक ९ गते जारी प्रेस विज्ञप्तिमा भनिएको छ–‘नगर प्रमुख रमेशकुमार यादव र कर्मचारीको मेहनतले नगरपालिकामा विकासको लहर आएको देखेर रिस गरिरहेको समूहले जनप्रतिनिधि र कर्मचारीलाई तर्साउने षडयन्त्र गरे ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत ओमबहादुर खड्काको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ । खड्काले छानविनको काम जारी रहेको बताउँदै चाँडै प्रतिवेदन बुझाउने उल्लेख गर्नु भयो ।

photo20211109bara (1)

photo20211109bara (2)

photo20211109bara (3)

photo20211109bara (6)

अन्य

भिडियो