गुम्बा गाविस-६ बोल्दे स्थायी घर भई हाल जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा रहेका २४ वर्षीय पासलाल तामाङले अनशन सुरू गरेका छन् ।
ज्यान मारेको घटनामा पीडितलाई उद्धार गर्ने कार्यमा आफू लागेको र घटनामा आफू निर्दोष हुँदाहुँदै पनि अदालतले पुर्पक्षका लागि थुनामा राखेको भन्दै तामाङ फागुन २४ गतेदेखि अनसनमा बसेका हुन् ।
माघ २४ गते गुम्बा गाविस- ६ स्थित पागर्पुमा व्यक्तिगत रूपमा झगडा हुँदा एक व्यक्तिको मृत्यु भएको थियो । सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई गिरफ्तार गरी जिल्ला अदालतमा पेश गरेको थियो ।
जिल्ला अदालतले माघ २४ गते पासलाल तामाङ सहित पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
अनसनमा बसेका पासलालले आफूलाई न्यायालयले न्याय नगरेको हुँदा बाँच्नु बेकार भएको भन्दै अनसन सुरु गरेको बताए ।
अनसनरत तामाङलाई खाना खुवाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी रवीन्द्र के.सीले बताए ।
भूकम्पले थुनुवा र कैदीबन्दी राख्ने जेल भत्केपछि अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेपनि केही समयको लागि प्रहरी हिरासतमै राख्ने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।