INSEC Online

📅 २०८३ जेष्ठ २१

चार वर्षअघि वडाध्यक्षमा पराजित महोत्तरीका राय पुनः मतगणना हुँदा दुई भोटले निर्वाचित

अदालतको आदेशमा चार वर्षपछि कात्तिक ७ गते मनरासिस्वा नगरपालिका–१० को वडामा भएको स्थानीय तह निर्वाचन २०७४ को मतपरिणाम उल्टिएको छ ।

उच्च अदालत जनकपुरधाम र सर्वोच्च अदालतले दिएको आदेश बमोजिम पुनः मतगणना हुँदा पहिले पराजित उम्मेदवार अहिले निर्वाचित हुनु भएको हो ।

यसअघि निर्वाचन आयोगले यो वडामा नेपाली कांग्रेसका उम्मेदवार अरुण चौधरी विजयी भएको घोषणा गरेको थियो । तर, कात्तिक ७ गते भएको पुनः मतगणनामा स्वतन्त्र उम्मेदवार रमेश राय विजयी हुनु भएको हो ।

चार वर्षअघि स्थानीय तहको निर्वाचनका क्रममा दुवै उम्मेदवारले २ सय ६७ मत ल्याएको भन्दै निर्वाचन आयोगले गोला प्रथाबाट चौधरी निर्वाचित भएको घोषणा गरेको थियो ।

पुनः मतगणनाको माग गर्दै स्वतन्त्र उम्मेदवार रमेश रायले उच्च अदालत जनकपुरधाममा मुद्दा दिनु भएको थियो ।

उच्च अदालतले ०७५ असार २१ गते पुनः मतगणना गर्न आदेश दिएपनि चौधरीले यो निर्णय विरुद्ध सर्वाेच्च अदालतमा निवेदन दिनु भएको थियो ।

सर्वाेच्च अदालतले ०७७ चैत ६ गते उच्च अदालतको आदेशलाई सदर गरेको थियो । सर्वोच्चको आदेश अनुसार पुनः गणना हुँदा पहिला भएको गणना भन्दा फरक नतिजा आएको देखिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिवाकर भुजेलले जानकारी दिनुभयो ।

उच्च अदालतका रजिष्ट्रार खड्गराज अधिकारी र आफ्नो उपस्थितिमा भएको पुनः गणनामा नेपाली कांग्रेसका उम्मेदवार चौधरीले २ सय ६६ र स्वतन्त्र उम्मेदवार रायले २ सय ६८ मत पाएको देखिएको भुजेलले बताउनुभयो ।

अब पुनः गणनाको परिणाम न्यायाधीशसमक्ष पेश हुने र त्यसपछि पद परिवर्तनको आदेश त्यहींबाट आउने भुजेलले जानकारी दिनुभयो ।

अन्य

भिडियो