INSEC Online

📅 २०८३ जेष्ठ २१

अमानवीय व्यवहार घटनाका आरोपितविरूद्ध कारवाही गर्छौँ–प्रजिअ बास्तोला

अमानवीय व्यवहार घटनाका आरोपितविरूद्ध कारवाही गरेरै छाड्ने धनुषका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला बताउनु भएको छ ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्था विभाग जनकपुरका निमित्त प्रमुख रौतहटको बृन्दावन नगरपालिका–१ विश्रामपुरका ४५ वर्षीय इञ्जिनियर राजेश्वर कुशवाहालाई कात्तिक ४ गते जनमत पार्टीका नेता कार्यकताहरूले कुटपिट गर्दै अर्धनग्न पारी जनकपुर बजार घुमाएको घटनापछि प्रतिक्रिया दिँदै उहाँले सो कुरा बताउनु भएको हो ।

लाठी, भाटा लिएर सडकमा उत्रेका जनमत पार्टीका नेता कार्यकताहरूले जनकपुरधाम उपमहानगरपालिकामा निर्माण गरेको ढलमा भ्रष्टाचार भएको आरोपमा ‘जनकारवाही’ गरेको जनमत पार्टीले जनाएको छ ।

कात्तिक २ र ३ गते जनकपुरलगायत देशभर परेको वर्षाको पानी जनकपुरको ढलबाट निकास हुन नसकेर सर्वसाधारणको घरघरमा प्रवेश गरेपछि जनमत पार्टीले आन्दोलन गरेको जनमत प्रेस सङ्गठनका केन्द्रिय अध्यक्ष विपी साहले इन्सेक धनुषा प्रतिनिधिलाई बताउनुभयो ।

आक्रोशित सयौँ नेता कार्यकताहरूको भिड सङ्घीय खानेपानी तथा ढल व्यवस्था विभाग जनकपुर पुगेपछि निमित्त कार्यालय प्रमुखले आन्दोलनकारीहरूलाई नै दुर्व्यवहार गर्न थालेपछि आक्रोशित भिडले हिलो छयापी पार्टीले ‘जनकारवाही’ स्वरुप कार्यालयका निमित्त प्रमुखलाई बजार घुमाएको जनमत प्रेस संगठनका केन्द्रिय अध्यक्ष विपी साहले बताउनुभयो ।

जनमत पार्टीले ढल निर्माणको क्रममा अनियमितता भएको भन्दै डेढ महिना पहिले सङ्घीय खानेपानी तथा ढल व्यवस्था विभाग जनकपुर र जनकपुरधाम उपमहागरपालिकामा ज्ञापनपत्र समेत बुझाएको जनमत प्रेस सङ्गठनका अध्यक्ष साहले बताउनुभयो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले राजनीतिक पार्टीको नाममा राष्ट्रसेवक कर्मचारीको मनोवल गिराउने अमानवीय घटना भएको बताउनुभयो ।

उहाँले भ्रष्टाचार भएको या कुनै प्रकारको समस्या भए कानुनी तरिकाले उपचार खोज्नुपर्नेमा कार्यालयमा गएर अमानवीय व्यवहार गरिनु मानव अधिकारको उल्लङ्घनसमेत भएको बताउनुभयो ।

सार्वजानिक शान्तिविरुद्ध घटना भएकाले प्रहरी प्रशासनले घटनाको छानविन सुरू गरिसकेको बताउँदै दोषीहरूलाई गिरफ्तार गरी कारवाही गरिने उहाँले बताउनुभयो ।

अन्य

भिडियो