प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादवले बेमौसमी वर्षा तथा हावाहुरीका कारणले कृषि बालीमा निकै क्षति भएको भन्दै तीनै तहका सरकारको समन्वय एवम् सहभागितामा राहत कार्यक्रम सञ्चालन गर्ने बताउनु भएको छ ।
कात्तिक ४ गते पत्रकार सम्मेलन गरी मन्त्री यादवले यस्तो जानकारी दिनु भएको हो ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादवले कात्तिक ४ गते मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश २ को आठ ओटै जिल्लामा धान, तरकारी तथा तेलहन एवम् दलहन बालीमा व्यापक मात्रामा क्षति भएको बताउँदै किसानलाई राहत दिने घोेषणा गर्नु भयो ।
मन्त्री यादवले तथ्याङ्क सङ्कलनपछि प्रदेश सरकारले राहत उपलब्ध गराउने बताउनु भएको छ ।
उहाँले भन्नु भयो–‘तथ्याङ्क नै सङ्कलन नगरी राहत घोषणा गर्न सकिँदैन । हामी क्षतिको एकिन विवरण सङ्कलन गरिरहेका छौँ । त्यसपछि सरकारले राहतका कार्यक्रम घोषणा गर्नेछ ।’
उहाँले अविरल वर्षा तथा हावाहुरीका कारणबाट प्रदेशवासीमा आर्थिक तथा मानसिक तनावको अवस्था आएको बताउँदै सरकारले किसानहरूका लागि राहतको घोषणा चाँडै गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
मन्त्रालयकी सचिव डा. नम्रता सिंहले मन्त्रालयले स्थानीय सरकारसँगको सहकार्यमा तथ्याङ्क सङ्कलन गर्ने काम गरिरहेको बताउँदै तथ्याङ्क आएपछि क्षतिको वास्तविक विवरण मन्त्रालयले सार्वजनिक गरेर राहतको कार्यक्रम घोषणा गर्ने बताउनु भयो ।
प्रदेश २ को आठ ओटै जिल्लामा यस वर्ष ४ लाख ३ हजार हेक्टरमा धानको खेती गरिएको थियो ।
गत वर्ष ३ लाख ७३ हजार ४ सय ४१ हेक्टर क्षेत्रफलमा धानको खेती गरिएकोमा १३ लाख ४४ हजार ३ सय ७८ मेट्रिक टन धानको उत्पादन भएको मन्त्रालयका सूचना अधिकारी मनिषकुमार पालले जानकारी दिनु भयो ।
यस वर्ष धान रोपाइको क्षेत्रफल बढेको र समय समयमा पानी परेका कारणले उत्पादन वृद्धि हुने अनुमान गरिएको भए पनि कात्तिक १ र २ गतेको मुसलधारे वर्षा तथा हावाहुरीले धानमा क्षति पुर्याएको सूचना अधिकारी पालले जानकारी दिनु भयो ।