सरकारले देशभरका ३ सय ९६ स्थानीय तहहरूमा ०७७ मङ्सिर १५ गते एकै दिन अस्पतालहरूको शिलान्यास गरेको भएपनि पाल्पामा बन्ने भनिएका तीन ओटै अस्पतालको अहिलेसम्म जग खन्ने काम समेत भएको छैन ।
नेपाल सरकारले देशका ३ सय ९६ स्थानीय तहहरूमा ५, १० र १५ शैयाका अस्पतालहरूको निर्माणको शिलान्यास एकै दिन गरेको थियो ।
माथागढी गाउँपालिका, पुर्वखोला गाउँपालिका र निस्दी गाउँपालिकामा सोही दिन १५÷१५ शैयाका अस्पतालको शिलान्यास गरिएको थियो ।
तीन ओटै अस्पतालको अहिलेसम्म जग खन्ने काम समेत भएको छैन । माथागढी गाउँपालिकाका इन्जिनियर धर्मेन्द्र यादवले अस्पताल निर्माणको टेण्डर आह्वान भई निर्माण व्यवसायीसँग सम्झौता भएको चार महिना पुग्दा पनि जग खन्ने काम समेत नभएको बताउनुभयो ।
यहाँको अस्पताल निर्माणका लागि दोस्रो पक्ष प्राकृतिक निर्माण सेवा भैरहवा र माथागढी गाउँपालिकाबिच १० करोड ७८ लाख ७५ हजार ७ सय रुपियाँमा दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी ०७८ जेठ २० गते सम्झौता भएको उहाँले बताउनुभयो ।
‘२४ महिनाभित्र काम सम्पन्न गर्नुपर्ने हुन्छ । तर, सम्झौता भएको चार महिना हुँदा पनि कुनै पनि काम सुरु भएको छैन ।’–उहाँले भन्नुभयो ।
निस्दी गाउँपालिकामा बन्ने भनिएको अस्पतालको पनि जग खन्ने काम समेत भएको छैन । प्राकृतिक रबिना ज्वाइन्ट भेन्चर कम्पनी भैरहवाले १६ करोड ६८ लाख ८४ हजार ९ सय २४ रुपियाँमा निस्दीमा अस्पताल निर्माण गर्ने गरी ०७७ जेठ ६ गते निर्माण कम्पनी र गाउँपालिकाबिच सम्झौता भएको थियो ।
०८० जेठ ६ गतेभित्र सम्पन्न गर्नुपर्ने कामको अहिलेसम्म जग खन्ने काम समेत नभएको निस्दी गाउँपालिकाका शाखा अधिकृत अर्जुन खनालले बताउनुभयो ।
पुर्वखोला गाउँपालिका–१ बीरकोटमा बन्ने भनिएको अस्पतालको लागि घडेरी खार्ने कामसमेत भएको छैन ।
गाउँपालिका र निर्माण कम्पनी बिक्वाई दाबा कम्पनी काठमाडौँबिच १२ करोड ५१ लख ७४ हजार १ सय ८९ रुपियाँमा १५ बेडको अस्पताल ०८० असार २८ गतेभित्र सम्पन्न गर्ने गरी ०७८ असार २३ गते सम्झौता भएको छ ।
तर, अहिलेसम्म जग खन्ने काम पनि नभएको गाउँपालिकाका इन्जिनियर शिव शर्माले बताउनुभयो । निर्माण कम्पनीले काम गर्न तयारी अवस्थामा रहेको बताइरहेको छ तर भौगोलिक अवस्थाका कारण जमीन खार्न डोजर प्रयोग गर्नुपर्ने भएकाले नजिकको बस्तीसमेत जोखिममा पर्ने डरले आफुहरूले नै काम ‘होल्ड’ गराएको उहाँले बताउनुभयो ।
निर्माण कम्पनी बिक्वाई दावा कम्पन्नीका प्रोपाइटर पामा मेडुप लामाले पानी परिरहेको बेला डोजर चलाउँदा अस्पताल बन्ने स्थानबाट माथि डाँडामा रहेका बस्तीहरू प्नि जोखिममा पर्ने डरले आफुहरूले काम सुरु नगरेको र पानी पर्न कम भएपछि काम सुरु गर्ने बताउनुभयो ।