INSEC Online

📅 २०८३ जेष्ठ २१

वर्षा र हावाहुरीका कारण अन्नबालीमा क्षति, खाद्य सङ्कट आउने अनुमान

कात्तिक १ गतेदेखि प्रदेश १ का विभिन्न क्षेत्रमा भएको वर्षासँगै चलेको हावाहुरीका कारण अन्नबालीमा क्षति पुगेको छ ।

पाकेको धान, पाक्न लागेको धान र कोदोबालीमा क्षति पुगेको प्रदेश कृषि मन्त्रालयले जनाएको छ । जसका कारण खाद्य सङ्कट आउने अनुमान गरिएको छ ।

प्रदेश कृषि मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले झापा, मोरङ, सुनसरीसहित पहाडी जिल्लामा धानबालीमा अत्यधिक क्षति पुगेको बताउनु भयो । फूल खेल्दै गरेको धान हावाले लडाउँदा सबैभन्दा बढी क्षति भएको कृषि मन्त्रालयले जनाएको छ ।

मोरङमा यस वर्ष ८३ हजार ३ सय हेक्टर, सुनसरीमा ५५ हजार र झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्र जमिनमा धान रोपाइँ भएको प्रदेश कृषि निर्देशनालय प्रमुख प्रकाश डाँगीले बताउनु भयो । प्रदेश १ मा यसवर्ष ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा धान खेती भएको छ ।

त्यसबाट करिब १४ लाख टन धान उत्पादन हुने निर्देशनालयको आँकलन थियो । गत वर्ष प्रदेश १ मा १३ लाख टन धान उत्पादन भएको थियो । यसवर्ष बेमौसी वर्षा र हुरीका कारण धानबालीमा भएको क्षतिकारण खाद्य सङ्कट नै आउने अवस्था रहेको प्रदेश कृषि निर्देशनालय प्रमुख प्रकाश डाँगीको भनाइ छ ।

प्रदेश १, को ताप्लेजुङमा ८ हजार ७ सय ३७, सङ्खुवासभामा १३ हजार ८ सय ५१, सोलुखुम्बुमा १ हजार ५ सय २५, पाँचथरमा ९ हजार २ सय, इलाममा १४ हजार ८ सय १५, भोजपुरमा १८ हजार, तेहृथुममा १० हजार १ सय ७५, धनकुटामा ७ हजार ९ सय ५०, उदयपुरमा १३ हजार ३ सय, ओखलढुङ्गामा ४ हजार ४ सय र खोटाङमा १२ हजार ८ सय ९३ हेक्टरमा हिउँदे धान रोपाइँ भएको कृषि निर्देशनालयको तथ्याङ्क छ ।

मोरङ प्रतिनिधि अर्जुन दर्जीका अनुसार मोरङमा यस वर्ष ८३ हजार ३ सय हेक्टर क्षेत्र जमिनमा हिउँदे धान रोपाइ भएकोमा बेमौसी वर्षा र हावाहुरीका कारण धानबालीमा ठूलो क्षति भएको छ । १७ ओटै स्थानीय तहहरूले धानबालीमा क्षति भएको जनाएका छन् । रङ्गेली नगरपालिका, रतुवामाई नगरपालिका र सुनवर्षी नगरपालिका वर्षाका कारण धानबालीमा सबै भन्दा बढी क्षति भएको छ । रतुवामाई नगरपालिकाले धानबालीमा भएको क्षति विवरण सङ्कलनका लागि कृषकलाई आग्रह गरेको छ । क्षति भएको विवरण सङ्कलन गरी नगरपालिकामा विवरण पेश गर्न नगरपालिकाले सार्वजनिक सूचना जारी गरेको नगरपालिकाका कृषि शाखा प्रमुख नरहरि निरौलाले बताउनु भयो ।

उर्लावारी नगरपालिकाले धानबालीमा भएको क्षतिको स्थलगत अनुगमन गरी क्षतिको विवरण सङ्कलन गर्न थालेको छ । प्रदेश सरकार र सङ्घीय सरकारलाई अन्नबालीमा भएको क्षति उपलब्ध गराउन अनुरोध गर्ने र दुवै ओटै सरकारले क्षति उपलब्ध नगराए नगरपालिका आँफैले किसानहरूलाई क्षतिपूर्ति दिलाउने उर्लावारी नगरपालिकाका मेयर खड्ग फागोले बताउनु भएको छ ।

भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार जिल्लामा १८ हजार हेक्टर क्षेत्रमा भएको धानबालीमा भारी वर्षाका कारण क्षति भएको छ । अविरल वर्षाका कारण धानबाली नष्ट हुँदा भोजपुरका किसान चिन्तित भएका छन् । भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, हुतुवागढी गाउँपालिका, अरूण गाउँपालिका पौवादुङमा गाउँपालिका लगायत नौ ओटै स्थानीय तहको १८ हजार हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गरेको छ ।

धान थन्क्याउने बेलाको बेमौसमी वर्षातले भने किसानलाई निराश बनाएको छ । कृषकको धान विभिन्न खोलामा आएको बाढीले बगाएको छ भने कतिपयको धान खेतमै डुबेको छ । खेतमा लटरम्म फलेको धानमा वर्षाका कारण ठूलो नोक्सानी भएको भोजपुर नगरपालिका–५ बोखिमका कृषक धनबहादुर थापाले बताउनु भयो । खेतमा पाकेर पहेंलपुर भएको धान काट्ने बेलामा आएको वर्षातले सबै नष्ट गरिदियो अब के खाने होला, उहाँले चिन्ता व्यक्त गर्नु भएको छ । अरूण गाउँपालिकाका कृषक रामबहादुर दाहालले वर्षातले सबै धानबाली सखाप पारेको बताउनु भयो । दाहालले भन्नुभयो–अरूण किनारमा काटेर राखेको धान दशैँ मानेर उठाउने भनेको पानीले खेतमै डुबायो ।

कृषि ज्ञान केन्द्र भोजपरका अनुसार जिल्लाभर १८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । कार्यालयमा धान नोक्सानीको विषयमा कुनै पनि तथ्याङ्क नरहेको कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख योगेन्द्रप्रसाद यादवले बताउनु भयो ।

तथ्याङ्क सङ्कलनका लागि सबै स्थानीय तहमा पत्रपठाइ सकिएको भएपनि असोज ३ गते साँझसम्म कतैबाट पनि तथ्याङ्क नआएको यादवले बताउनु भयो । ‘पानीले धानमा नोक्सानी भएको छ तर स्थानीय तहरूबाट हामीले आधिकारीक तथ्याङ्क पाएका छैनौं।’ यादवले भन्नु भयो । ‘यस्तो समयमा आएको वर्षातले धान बालीमा ठूलो क्षति भएको छ, हामीसँग आकस्मिक प्रकोप सहयोग कोष छ त्यसबाट पनि कृषकलाई केही राहत दिन सकिन्छ त्यसले मात्र पुग्ने सम्भावना छैन । जिल्लाभरको क्षतिको विवरण सङ्कलन गरेर स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने यादवको भनाइ छ । पौवादुङमा गाउँपालिकाको अधिकांश क्षेत्रमा धान खेती हुने गर्दछ । बेमौसमी वर्षातले गाउँपालिकाको श्यामशिला, बास्तीम, सानोदुम्मा, ठूलोदुम्मा, तिलहार, लगायत ठाउँमा धानबाली नष्ट भएको छ ।

थन्क्याउने बेलामा सबै धानबाली वर्षातले नष्ट गरेका कारण खाद्य सङ्कट आउन सक्ने पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताउनु भयो । राईले भन्नु भयो ‘ वर्षातले धान बाली नष्ट गरेको छ, के कति क्षति भयो भन्ने विषयमा गाउँपालिकाको कृषि शाखालाई विवरण सङ्कलन गर्न लगाएका छौँ, विवरण सङ्कलनपछि के कसरी कृषकलाई राहात दिने भन्ने विषयमा कार्यपालिकाका बैठक बसेर निर्णय गर्ने छौँ ।

अरूण गाउँपालिकाले पनि क्षतिको विवरण सङ्कलन थालिएको जनाएको छ । गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले क्षतिको विवरण सङ्कलन गरी कृषकलाई क्षतिपूर्ति दिलाउने विषयमा छलफलपछि निर्णय गर्ने छौँ ।

मुख्य खाद्यान्न बाली धान रहेकाले अधिकांश कृषकको घरमा भोकमरी आउने अवस्था आँकलन गरिएको रामप्रसादराई गाउँपालिका अध्यक्ष विजय राईले बताउनु भयो । अध्यक्ष राईले भन्नुभयो ‘यस विषयमा गाउँपालिकाको ध्यान गएको छ हामी कृषकलाई कसरी क्षतिपूर्ति दिन सकिन्छ भन्ने विषयमा छलफल गर्ने छौ ।’

उदयपुर प्रतिनिधि सुजता ढुङ्गानाका जिल्लामा १३ हजार ३ सय हेक्टर क्षेत्रफल जमिनमा भएको धानबाली मध्ये २५ प्रतिशतमा वर्षा र हावाहुरीका कारण क्षति पुगेको छ । त्रियुगा नगरपालिका–९ का ६० वर्षीय किसान जहरमान दनुवारले एक विघाहा क्षेत्रफल जमिनमा लगाएको धान पानीका कारण नष्ट हुँदा वर्षभरी भातखाने धान नभएको गुनासो गर्नु भएको छ । कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख महेशकुमार चौधरीले जिल्लामा २५ प्रतिशत धानबालीमा क्षति पुगेको बताउनु भएको छ । प्रमुख चौधरीले त्रियुगा नगरपालिकाभित्र धानबालीमा भएको क्षति सङ्कलनका लागि स्थलगत अनुगमन गरेको भएपनि यकिन विवरण सङ्कलन भइ नसकेको बताउनु भएको छ ।

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार जिल्लामा ५५ हजार हेक्टर क्षेत्रफल जमिनमा भएको धानबाली मध्ये २० हजार हेक्टर क्षेत्रफल जमिनमा भएको धानबालीमा बेमौसमी वर्षा र हावाहुरीका कारण क्षति भएको छ । कषि ज्ञान केन्द्र सुनसरीले २० हजार हेक्टर क्षेत्रफल जमिनमा भएको धानबालीमा वर्षाका कारण क्षति पुगेको जनाएको छ ।

ज्ञान केन्द्रका सूचना अधिकारी योगेन्द्रप्रसाद यादवले २० हजार हेक्टर क्षेत्रफल जमिनमा लगाइएको धानबालीमा क्षतिको अनुमान गरिएको भएपनि क्षतिको यकिन विवरण सङ्कलन भइ नसकेको बताउनु भएको छ । धानबाली, माछापालन र लहरे तरकारी बालीमा गरी करोडौँ मूल्य बराबरको क्षति भएको ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा नगदे बालीका रूपमा लगाइएको लहरे तरकारी, केरा, उखु, काउलीसहित ३ हजार हेक्टर क्षेत्रफल बढीमा लगाएको अन्य बालीमा क्षति पुगेको छ । बेमौसमी वर्षा र हावाहुरीका कारण आएको बाढीका कारण धरान, इटहरी, रामधुनी, इनरूवा, बराहक्षेत्र, कोशी, भोक्राहा नरसिंह, हरिनगर, देवनागञ्ज , वर्जु , गढी र दुहवी लगायतका क्षेत्रमा लगाएको धानबालीसहित तरकारी बालीमा क्षति पुगेको छ ।

१ सय ३५ हेक्टर क्षेत्रफलमा लगाइएको केराखेती बाढीका कारण नष्ट हुँदा २ करोड १५ लाख रुपियाँ बराबर क्षति भएको अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र कार्यालय सुनसरीका अनुसार भोक्राह नरसिंह, कोसी गाउँपालिका र इनरुवा नगरपालिका–९ बबिया क्षेत्रमा केरा खेती हुने गरेको छ ।

खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार बेमौसमी वर्षा र हावाहुरीका कारण जिल्लामा आठ प्रतिशत धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । यस वर्ष १३ हजार ५ सय १६ हेक्टर क्षेत्रफल जमिनमा धान खेती भएकोमा आठ प्रतिशत क्षेत्र जमिनमा लगाइएको धानबालीमा वर्षाका कारण क्षति पुगेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका कृषि अधिकृत धमेन्द्र कलौनीका अनुसार २ हजार रोपनीमा लगाएको धानखेतीमा पूर्ण रूपमा क्षति पुगेको छ ।

बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकग्राम बन्जराले गाउँपालिमा १ हजार ८ सय रोपनी क्षेत्रफल जमिनमा लगाइएको धान खेतीमा पूर्ण रूपमा क्षति पुगेको छ । वर्षाका कारण धानबालीमा भएको क्षतिपूर्ति किसानले पाउने वा नपाउने आफूलाई जानकारी नभएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत रामनन्दन यादवले बताउनु भएको छ ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा बेमौसी वर्षा र हावाहुरीका २ हजार २ सय ९३ हेक्टर क्षेत्रफल जमिनमा लगाइएको धानबाली, फापर र कोदोबालीमा क्षति पुगेको छ । आठ ओटै स्थानीय तहमा थन्क्याउने तयारी अवस्थामा रहेको बालीमा क्षति पुगेको हो । स्थानीय तहका कृषि शाखामार्फत कृषि ज्ञानकेन्द्रले सङ्कलन गरेको विवरण अनुसार ४ हजार ४ सय ३ हेक्टर क्षेत्रफल जमिनामा लगाइएको धानबालीमध्ये ८ सय ८० हेक्टर, ७ हजार ७ सय ५१ हेक्टरमा लगाइएको कोदोबालीमध्ये १ हजार ३ सय ९५ हेक्टर र ९३ हेक्टरमा लगाइएको फापरमा १८ हेक्टरमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका अधिकृत छैँटौ टिका बानियाले बताउनु भयो । ज्ञान केन्द्रले जिल्लामा भएको क्षतिको विवरण प्रदेशको कृषि विकास निर्देशनालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पठाएको जानकारी दिएको छ । किसानले क्षतिपूर्ति माग गरीरहेको भएपनि माथिल्लो निकायबाट कार्यक्रम नआएसम्म जिल्ला कृषि ज्ञानकेन्द्र सँग कुनै राहत प्याकेज नहुने अधिकृत बानियाको भनाइ छ ।
लगातारको वर्षाका कारण पाकेर पहेँलपुर भएको धानबालीमा पानी र हावाहुरीले क्षति पुगेपछि किसान चिन्तित भएका छन् । मोलुङ गाउँपालिका–३ प्राप्चाका रूद्रप्रसाद फुयालले पानीका कारण लगाएको बाली नष्ट हुँदा अनिकालमा परिने चिन्ता व्यक्त गर्नु भएको छ । वर्षभरि अर्मपर्म गरेर लगाएको बाली भित्राउन नपाइ नष्ट भएपछि चिन्ता थपिएको सिद्धिचरण नगरपालिका ९ की सकुन्तला बानियाले बताउनुभयो ।
मोलुङ्ग गाउँपालिका–४ हर्कपुर र जरायोटारमा सबैभन्दा बढी क्षति पुगेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । सुनकोशी गाउँपालिका–८ मा हावाहुरी र पानीले धेरै धानबालीमा क्षति गरेको किसानले गुनासो गरेका छन् । सुनकोशी गाउँपालिका–८का कृष्ण श्रेष्ठले वर्षभरीको मेहनत खेर गएको दुखेको पोख्नु भयो । लिखु, चम्पादेवी, चिशंखुगडी, मानेभञ्ज्याङ, मोलुङ र खिजीदेम्बामा पनि बर्षातका कारण पाकेको धानबालीमा क्षति पुगेको किसानले बताएका छन् ।

सोलखुम्बु प्रतिनिधि भोजराज कार्कीका अनुसार कात्तिक १ गतेदेखिको वर्षाका कारण धानबाली र कोदोबालीमा क्षति पुग्दा जिल्लाका किसान चिन्तित भएका छन् । जिल्लामा हुने मुख्य बालीमध्ये धान र कोदो खेतीमा वर्षातसँगै हावाहुरीले क्षति पुर्याएपछि खाद्य सङ्कट आइपर्ने तर्फ किसानहरूले चिन्ता व्यक्त गरेका छन् । थुलुङ दूधकोशी गाउँपालिका–६ का किसान तुलबहादुर कार्कीले १२ रोपनी क्षेत्रफलमा लगाएको धानबाली हावाहुरीका कारण नष्ट भएको बताउनु भयो । कृषि ज्ञान केन्द्र का अनुसार गत वर्ष जिल्लामा १ हजार ५ सय ५ हेक्टर क्षेत्रफलमा ३ हजार ६ सय मेट्रिकटन धान उत्पादन भएको थियो । तर यो वर्ष पानीका कारण अधिकांश क्षेत्रमा धानबाली र कोदोबालीमा क्षति हुँदा यस वर्ष १० प्रतिशतले उत्पादनमा गिरावट आउने अनुमान रहेको ज्ञान केन्द्रका सूचना अधिकारी कुलबहादुर राईको भनाइ छ ।

नेचासल्यान, थुलुङदूधकोशी र सोताङको तल्लो क्षेत्रमा धान खेती हुँदै आएको छ । तल्लो क्षेत्रका कृषकको मुख्य आम्दानीको स्रोत नै धान रहेको भएपनि एकै रातमा स्वाहा भएपछि भोकमरीले सताउने चिन्ता थपिएको नेचासल्यान गाउँपाकिला–३ की मात्रिका कटेलले बताउनु भयो । जिल्लाको मध्य भागका कृषकको मुख्य अन्नबालीमा मध्ये कोदो पर्छ । कोदोबालीमा हावाहुरी र पानीले क्षति पुर्याएपछि घरपरिवार चलाउन समस्या हुने थुलुङदूधकोशी गाउँपालिका–७ का किसान बासुदेव खत्रीको भनाइ छ । जिल्लामा गत वर्ष २ हजार १ सय ५ हेक्टर क्षेत्रफलमा २ हजार ८ सय ३० मेट्रिकटन कोदो उत्पादन भएको भएपनि यस वर्ष १० प्रतिशत भन्दा बढीले उत्पादनमा गिरावट आउने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

बेमौसमी वर्षा र हावाहुरीका कारण के कति अन्नबालीमा क्षति पुग्यो भन्ने यकिन विवरण नभएको स्थानीय तहले जनाएका छन् । कृगिा ज्ञान केन्द्रका सूचना अधिकारी कुलबहादुर राईले सबै स्थानीय तहलाई क्षति विवरण उपलब्ध गराउन परिपत्र गरेको भएपनि विवरण प्राप्त हुन नसकेको बताउनु भएको छ । विवरण सङ्कलन भएपनि किसानलाई क्षतीपूर्ति दिने वा नदिने स्पष्ट नीतिगत व्यवस्था नभएको राइको भनाइ छ । विभिन्न समयमा राहत तथा उद्दारमा सक्रियता जनाउने स्थानीय सरकार अन्नबालीमा भएको क्षति विवरण सङ्कलनमा भने सुस्ताएको छ ।

मन्त्रीपरिषद्को ०७८ भदौ २९ गते बैठकले मोटा धानको प्रतिक्टिन्टल २ हजार ७ सय ५२ रुपियाँ र मध्यम किसिमको धानको प्रतिक्टिन्टल २ हजार ९ सय २ रुपियाँ समर्थन मूल्य तोकेको छ ।

नेपालको संविधानले धारा ३६ मा खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हक हुने व्यवस्था गरिएको छ । त्यसैगरी उपधारा २ मा प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक हुने व्यवस्था छ । भने उपधारा ३ मा प्रत्येक नागरिकलाई कानुनबमोजिम खाद्य सम्प्रभुताको हक हुने व्यवस्था छ ।

Photo 202101021 Morang (1)

Photo 202101021 Morang (2)

Photo 202101021 Morang (3)

Photo 202101021 Morang (4)

Photo 202101021 Morang (5)

Photo 202101021 Morang (6)

Photo 202101021 Morang (7)

अन्य

भिडियो