भोक्राहा नरसिंह गाउँपालिका–५ का २५ वर्षीया मोहम्मद हकिम शाँको जिल्ला प्रहरी कार्यालय हिरासतमा असोज २४ गते भएको मृत्यु घटनाको वास्तविकता छानविन गर्न माग गर्दै हिन्दू स्वयमसेवक सङ्घ र मुस्लिम मुक्ति मोर्चा प्रदेश १, नेपालले कात्तिक १ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।
घटनाका विषयमा मुस्लिम आयोगले चासो व्यक्त गर्नुका साथै अधिकारकर्मीहरूले सामाजिक सद्भावका लागि अपिल गरेका छन् ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले हिन्दू स्वयमसेवक सङ्घ र मुस्लिम मोर्चाले बुझाएको ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा पठाइएको बताउनु भयो ।
मुस्लिम मोर्चाले ज्ञापनपत्रमा असोज २४ गते जिल्ला प्रहरी कार्यालय इनरूवाको हिरासतभित्र भोक्राहा नरसिंह–५ का मोहम्द हकिम शाँको मृत्यु घटना र इनरूवा नगरपालिका–९ का ४५ वर्षीय विष्णु शर्माको घरमा भएको आगजनि घटनाको छानविन गर्न उच्चस्तरीय समिति बनाउन माग गरेको छ । मोर्चाले प्रशासनमा बुझाएको ज्ञापनपत्रमा घटनाको वास्तविकता सार्वजनिक गरि दोषीलाई कारबाही गर्न माग गरिएको मुस्लिम मोर्चाका प्रदेश १ संयोजक हैदर अलीले बताउनु भयो ।
ज्ञापनपत्रमा निष्पक्ष छानविन हुनुपर्ने, रानी शर्मालाई सुरक्षित सेल्टरमा राख्नुपर्ने, पीडितलाई उचित क्षतिपूर्ति तुरून्त उपलब्ध गराउनुपर्ने लगायतका सात बुँदे मागसहितको ज्ञापनपत्र बुझाए मोर्चाका प्रदेश १, संयोजक हैदर अलीले बताउनु भयो ।
हिन्दू स्वयमसेवक सङ्घले बुझाएको ज्ञापनपत्रमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा भएको मृत्यु र त्यसपछि उत्पन्न घटनाक्रम प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आत्महत्याको घटनाको बारेमा न्यायिक छानविन र दोषीलाई कारबाही गर्ने कानुनी प्रक्रिया भएको अवस्थामा आन्दोलनको नाममा इनरूवा नगरपालिका–९ का ४५ वर्षीय विष्णु शर्माको घरमा नियोजित रूपमा आगजनि भएको घटनाको छानविन र दोषीलाई कारबाही गर्न हिन्दू स्वयमसेवक सङ्घले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा प्रहरी हिरासतमा रहेको व्यक्तिले आत्महत्या गर्नु र सुरक्षा दिन नसक्नु प्रहरीको विषय भएको र त्यसको पनि उपचार खोज्ने कानुनी बाटोहरू भएको अवस्था प्रहरीमाथि नै ढुङ्गामुढा गर्नु, प्रहरी कार्यालयको भौतिक संरचनामा जानाजान क्षति पुर्याइएकाले घटनामा संलग्नहरूलाई कारबाही गर्न माग गरिएको छ ।
सनातन धर्म संस्कृति समाजले कात्तिक १ गते हिरासतभित्रको मृत्यु र विष्णु शर्माको घरमा भएको आगजनीको घटनाको विषयमा स्वतन्त्र र उच्चस्तरीय छानविन समिति बनाइ दोषीलाई कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको समाजका सचिव राजेश यादवले जानकारी दिनु भयो ।
घटनाबारे मुस्लिम आयोगको चासो
प्रहरी हिरासतमा मृत्यु भएको घटनाप्रति मुस्लिम आयोगले चासो व्यक्त गरेको छ । आयोग अध्यक्ष समिम मियाँ अञ्सारीले असोज २७ गते प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, एसपी सञ्जयसिंह थापालाई टेलिफोन सम्पर्कगरी घटनाका विषयमा चासो व्यक्त गर्नु भएको छ । टेलिफोन सम्पर्कमा अध्यक्ष अञ्सारीले घटनाबारे जानकारी लिएको र सत्यतथ्य छानविन गरि दोषीलाई कानुनी कारबाही गर्न निर्देशन दिएको एसपी थापाले बताउनु भयो । सो क्रममा हिरासतमा हत्या नभई आत्महत्या भएको र घटनाका वास्तविकता अध्ययनका लागि छानविन समिति गठन गरिएको विषयमा जानकारी दिएको एसपी थापाले बताउनु भयो । घटनाबारे मुस्लिम आयोगले पीडित र सरोकारवालासँग जानकारी लिइ राखेको आयोग अध्यक्ष अञ्सारीले बताउनु भएको छ ।
सामाजिक सद्भावका लागि अधिकारकर्मीद्वारा अपिल
असोज २४ गते हिरासतमा भएको मृत्युपछि उत्पन्न घटना तथा परिघटनाले सामाजिक सद्भाव विथोलिन सक्ने भन्दै अधिकारकर्मीहरूले सामाजिक सद्भाव कायम राख्न असोज २८ गते सबैसँग अपिल गरेका छन् । अधिकारकर्मीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको सुक्ष्म अध्ययन, अनुसन्धान, छानविन गरि दोषीलाई कारबाही गरि कानुनी राज्यको अनुभूति गराउन माग गरेका छन् । अधिकारहरूले असोज २४ को घटनालाई लिएर सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि कार्य नगर्न सबैसँग अपिल गरेका छन् । अधिकारकमीहरूले जातीय, धार्मिक र साम्प्रदायिकताको नारा नदिइ संयमित भइ सामाजिक सदभाव कायम गर्न अपिल गरेका छन् ।
छानविन समितिद्वारा पीडित परिवारसँग छलफल
प्रहरी हिरासतभित्र भएको आत्महत्या घटनाको विषयमा छानविन गर्न बनेको समितिका पदाधिकारी र प्रमुख जिल्ला अधिकारीले मृतक मोहम्मद हकिम शाँको परिवारसँग असोज २७ गते भेटेर घटनाका विषयमा छलफल गरेको छ । छानविन समितिले मृतकका ६५ वर्षीय बाबु फुलमोहम्मद शाँलाई भेटेर घटनाका छलफल गरेको हो । भेटका क्रममा पीडित पक्षले राज्यले पीडित परिवारका सदस्यलाई सरकारी रोजगारी दिनुपर्ने, दोषीलाई कारबाही र उचित क्षतिपूर्ति दिलाउन माग गरेको छ ।
छानविन समितिले आन्दोलकारीद्वारा असोज २४ गते घर जलाइएका इनरूवा नगरपालिका–९ का ४५ वर्षीय विष्णु शर्मासँग भेटेर घटनाका विषयमा जानकारी लिएको छ ।
छानविन समिति परिमार्जन
घटनाको छानविन गर्न असोज २४ गते जिल्ला प्रहरी कार्यालय सुनसरी परिसरमा सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको संयोजकत्वमा गठित छानविन समितिको परिमार्जन गरिएको छ । समितिमा नेपाल प्रहरीको अधिकृत सुभाष भट्टराई, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अञ्सारी मियाँ, कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अञ्सारी, भोक्राहा नरसिंह गाउँपालिका–५ का वडाध्यक्ष बसिरमुद्धिन मञ्सुरी र इनरूवा नगरपालिका– १० का वडाध्यक्ष सुलताम मियाँ सदस्य रहेकोमा असोज २७ गते परिमार्जन गरेर हरिनगर र कोशी गाउँपालिकाका अध्यक्षलाई हटाएर भोक्राहा नरसिंह गाउँपालिका–८ का वडाध्यक्ष हातिम अञ्सारी, समाजसेवी हसबुल मियाँ र इसराइल मञ्सुरीलाई राखिएको छ । समितिले असोज २४ गतेदेखि नै काम थालेको छ । समितिले घटनाको प्रारम्भिक जानकारी, लासको अवस्था मुचुल्का र पोष्टमार्टमसम्मको विवरण प्रत्यक्ष अवलोकन गरेको छ । समितिले यथाशीघ्र प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
विभिन्न पार्टीद्वारा दोषीलाई कारबाहीको माग
जिल्ला प्रहरी कार्यालय, विष्णु शर्मा र उनकी छोरी रानी शर्मा खत्वेको घरमा भएको आगजनिको मौलिक जरोकिलो पार्टी, प्रदेश १ ले भत्र्सना गरेको छ । असोज २७ गते सो पार्टीले विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ । मुस्लिम समुदायका युवकले युवतीलाई भगाएको घटनापछि युवती पक्षको असन्तुष्टीको कारण युवालाई प्रहरी हिरासतमा लिएको बखत युवकले आँफै आत्महत्या गरेको विषयलाई साम्प्रदायिक मुद्दा बनाएर तोडफोड र आगजनी भएको घटनाप्रति खेद व्यक्त गरिएको सो पार्टीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जनमत पार्टी जिल्ला समन्व्य समिति सुनसरीले असोज २५ गते विज्ञप्ति जारी गरि प्रहरी हिरासतभित्र मृत्यु घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । मृतकलाई शहीद घोषणा गर्नुपर्ने, मृतक परिवारका एक जना सदस्यलाई सरकारी रोजगारी दिनुपर्ने,दोषीलाई कारबाही गर्नुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, घटनाको राष्ट्रिय मानव अधिकार आयोगद्धारा छानविन हुनुपर्नेलगायतका माग जनमत पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हिरासतमा मृत्युपछि प्रहरी र स्थानीयबिच झडप
भोक्राहा नरसिंह गाउँपालिका–५ का २१ वर्षीय मोहम्मद हकिम शाँले जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा असोज २४ गते बिहान आत्महत्या गरेको विषयलाई लिएर पीडित पक्षले गरेको विरोधमा प्रहरी र स्थानीयबिच असोज २४ गते झडप भयो । झडपको क्रममा प्रर्दशनकारीहरूको ढुङ्गा प्रहारबाट १३ जना भन्दा बढी प्रहरी र दुई जना प्रर्दशनकारी घाइते भए । सो क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत डिएसपी ४० वर्षीय नरेन्द्रकुमार कार्की, इन्स्पेक्टर ३२ वर्षीया मीना राई, ३५ वर्षीया मेनुका राई, ३४ वर्षीय हरी कार्की, प्रहरी जवान २५ वर्षीया मनिषा चौधरी, २२ वर्षीया रोजिना कार्की, २४ वर्षीया पवित्रा तामाङ, २४ वर्षीया कमला कार्की, प्रहरी जवान २८ वर्षीय सुरेन्द्र खत्री, २५ वर्षीय रवीन्द्र दनुवार, २६ वर्षीय रमेश कार्की, २६ वर्षीय कालुराम राजवंशी र २४ वर्षीय जीवराज राई घाइते भएको डिएसपी नरेन्द्रकुमार कार्कीले बताउनु भयो । घाइते सबैको उपचार प्रहरी कार्यालयभित्र चिकित्सक डाक्टर रवीन्द्र मण्डलले असोज २४ गते गर्नु भएको थियो । प्रर्दशनकारीतर्फ हरिनगर गाउँपालिका–१ रामनगरभुटाहाका २४ वर्षीय कलामुद्धिन मियाँ र सोही ठाउँका २१ वर्षीय सरिफ मियाँ घाइते भए । टाउका चोट लागेकाद्घयको सोही दिन जिल्ला अस्पतालमा गरियो । प्रर्दशनकारी र प्रहरीबिच उत्पन्न तनावका कारण असोज २४ गते सदरमुकाम इनरूवा तनावग्रस्त भएको थियो । प्रर्दशनकारीले सुरक्षाका लागि खटिएका प्रहरीबाट ढुङ्गा प्रहार गरेपछि प्रहरीले स्थिती नियन्त्रणका लागि ३७ सेल अश्रु ग्यास प्रहार गरेको थियो ।
घटनाको कारणः अन्तरजातीय प्रेम
भोक्राहा नरसिंह गाउँपालिका–५ का २१ वर्षीय मोहम्मद हकिम शाँ र इनरूवा नगरपालिका–९ की १७ वर्षीया शर्मा थरकी बालिकाबिच प्रेम सम्बन्ध रहेको थियो । दुवै पक्षका अभिभावकले अन्तरजातीय सम्बन्धलाई स्वीकार नगरेको अवस्थामा २१ वर्षीय हकिम शाँले ०७८ साउन ३ गते राति बालिकालाई भगाएर धनकुटा जिल्लाको धनकुटा नगरपालिका–१ स्थित हिलेमा लुकाएर राखेका थिए । इनरूवा नगरपालिका–९ का ४५ वर्षीय विष्णु शर्मा बालिकाका बाबुले आरोपितविरूद्ध साउन ४ गते जिल्ला प्रहरी कार्यालयमा अपहरण तथा शरीरबन्धक शीर्षकमा उजुरी दिए । आरोपितविरूद्ध प्रहरीमा उजुरी परेपछि प्रहरीले कानुनी प्रक्रिया अघि बढाएको अवस्थामा हकिम शाँको परिवारले दुवै पक्षलाई घर बोलाएर वार्ताका माध्यमबाट समस्या समाधानका लागि पहल गरे । परिवारको आग्रहमा हकिम शाँ असोज १२ गते प्रेमिकालाई लिएर घर आएको अवस्थामा बालिकाका बाबु विष्णु शर्माले हकिम शाँसँग जे भयो–भयो भनेर छोरीलाई छोड्न आग्रह गरे । विष्णु शर्माले गरेको अनुरोधलाई बेवास्ता गर्दै हकिम शाँले विष्णु शर्मामाथि हातपातको प्रयास गरे । शाँले आफूमाथि हातपात गरेको आरोपमा विष्णु शर्माले आरोपितविरूद्ध असोज १३ गते जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहार शीर्षकमा उजुरी दिए । आरोपितलाई प्रहरीले असोज १३ गते अनुसन्धानका लागि घरबाटै गिरफ्तार गर्यो । आरोपितविरूद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालयमा असोज १३ गते अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि पहिलो पटक पाँच दिन र दोस्रो पटक एकसाता लागि म्याद थप्ने गरी कारबाही अघि बढायो । आरोपित शाँविरूद्ध प्रहरीले पहिलो पटक असोज १३ गतेदेखि १७ गतेसम्म र दोसो पटक असोज १८ गतेदेखि असोज २४ गतेसम्मका लागि म्याद थप गरेको थियो । असोज २२ गते जिल्ला प्रशासन कार्यालयमा आरोपितलाई उपस्थित गराउने तयारी गरेको प्रहरीले शुक्रवार भएका कारण असोज २४ गते आइतवार शाँलाई उपस्थित गराउने तयारी गरेको थियो । जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराउनु अघि थुनुवा अवस्थामा रहेका शाँसँग ६५ वर्षीय बाबु फूलमोहम्मद मियाँले भेट गरेका थिए । भेटका क्रममा धरौटीका लागि आवश्यक ५ हजार रुपियाँ र खाना खर्चका लागि २ हजार गरी ७ हजार रुपियाँ छोरालाई दिएको बाबु फूलमोहम्मद मियाँले बताए । प्रहरीले आरोपितलाई असोज २४ गते जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएर धरौटीमा रिहा गर्ने तयारी गरेको अवस्थामा आरोपितले असोज २४ गते बिहान ३ बजे थुनुवा कक्षमै गम्छाको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनायो । शाँले थुनुवा कक्षमा आत्महत्या गरेको नभई नियोजित रूपमा हत्या भन्दै पीडित पक्षले प्रहरी कार्यालय अघि प्रर्दशन गर्नुका साथै ढुङ्गामुढा र आजगनी गरेका थिए । जसका कारण असोज २४ गते बिहानैदेखि सदरमुकाम तनावग्रस्त भएको थियो ।
आक्रोशित पक्षद्वारा घरमा आगजनी
हिरासत कक्षमा आत्महत्या नभई नियोजित हत्या भन्दै विरोधमा उत्रिएका मृतकका आफन्तले असोज २४ गते बालिकाको घरमा आगजनी गरे । भोक्राहा नरसिंह गाउँपालिका–५ का मुस्लिम युवाहरूले घरमा आगजनी गरेको घरधनी ४५ वर्षीय विष्णु शर्माले बताए । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र दुहवी नगरपालिकाको दमकल प्रयोग गरिएको थियो । आगो नियन्त्रणमा खटिएका इनरूवा नगरपालिका–९ का ४५ वर्षीय दयान्दन खत्वेलाई मुस्लिम युवाहरूले हातपात गरि घाइते बनाएको घरधनी विष्णु शर्माले बताए । आगलागीबाट ४० लाख रुपियाँ बराबरको क्षति भएको पीडितको भनाइ छ । प्रहरीले भने ४ देखि ६ लाख रुपियाँ बराबरको क्षति भएको जानकारी दिएको छ ।
घटनापछि हिरासत कक्षको आयोग र इन्सेकद्वारा अनुगमन
असोज २४ गते हिरासत कक्षमा भएको मृत्युको विषयलाई लिएर प्रहरी र पीडित पक्षबिच झडप भएको विषयसहित हिरासत कक्षको अवस्थाका बारेमा सोही दिन इन्सेक सुनसरी र राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ कार्यालयले अनुगमन गर्याे । मानव अधिकार आयोग प्रदेश १ निर्देशक नितु गड्तौला र इन्सेक सुनसरी प्रतिनिधिले थुनुवाहरूलाई भेटेर उनीहरूको अवस्थाका बारेमा जानकारी लिएका थिए । असोज २४ गते हिरासत कक्षभित्र आत्महत्या भएको घटनाका बारेमा जिल्ला प्रहरी कार्यालयका एसपी सञ्जयसिंह थापा र इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीलाई भेटेर थुनुवा कक्षमा देखिएका समस्याहरूको बारेमा छलफल र सुधारका लागि सुझाव समेत दिएको आयोग निर्देशक निुत गड्तौलाले बताउनु भयो । अनुगमन टोली समक्ष सीसीटीभी क्यामेरामा स्पष्ट रूपमा शाँले आत्महत्या गरेको देखिएकाले प्रहरीमाथि आक्षेप लगाउनु उचित नहुने एसपी सञ्जयसिंह थापाले बताउनु भयो ।
पीडित पक्षद्धारा शवको सद्गत
असोज २५ गते प्रहरी, जनप्रतिनिधि र पीडित पक्षबिच भएको छलफलपछि सोही दिन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान(घोपा) मा पोष्टमार्टम गरिएको छ । पीडित पक्षले असोज २५ गते शव बुझि इनरूवा नगरपालिका–९ स्थित कब्रस्थानमा सद्गत गरेको छ ।









