संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीको अनिश्चितकालीन सप्तरी बन्दले फागुन २५ गते पनि जिल्लाका शिक्षण संस्था, बजार, बैङ्क, बित्तिय संस्था, उद्योग, व्यवसाय, कार्यालयहरू बन्द रहेको छ ।
मोटरसाइकल बाहेक लामो तथा छोटो दुरीका यातायातका साधनहरू पूर्णतया बन्द छन् । बन्दले सर्वसाधारण तथा सेवाग्राहीहरू मारमा परेका छन् ।
मोर्चाका कार्यकर्ताहरूले सदरमुकाम राजविराजसहित जिल्लाका विभिन्न बजार र चोकहरूमा बिहानैदेखि टायर बालेर प्रदर्शन गर्नुका साथै सरकार र स्थानीय प्रशासनको विरोधमा चर्को नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।
मोर्चा सप्तरीले नेकपा (एमाले) का समर्थकहरूलाई सप्तरी जिल्लामा सामाजिक बहिष्कार गर्न आब्हान गर्दै घरहरूमा ढुङ्गामुढा गर्न थालेपछि परिचित नेताहरूले राजविराज बजार छाडेका छन् ।
प्रहरीको गोलीबाट तीन जनाको मृत्यु पछि मोर्चा सप्तरीले फागुन २४ गते अनिश्चितकालीन सप्तरी बन्दको घोषणा गरेको थियो । धरानमा उपचाररत मलेठ गाविस-२ का ३८ वर्षीय बिरेन्द्र मेहताको फागुन २५ गते बिहान मृत्यु भएपछि स्थिति थप तनावपूर्ण बनेको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीका कार्यकर्ताहरूले राजविराज नपा-९ स्थित निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको घर, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्रा. डा. कामानन्द देवको लिटिल फ्लावर सेकेण्ड्री स्कूल र ब्यवस्थापिका संसदको महिला-बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जु झाको सम्पर्क कार्यालयमा फागुन २५ गते तोडफोड गरेका छन् ।
मोटरसाइकल जुलुससहित निस्किएका मोर्चाका कार्यकर्ताहरूले यादवको घरमा ढुङ्गामुढा गरे भने देवको स्कूलमा तोडफोड गरी सिसा फुटाएका छन् । उनीहरूले सांसद झाको राजदेवी चोकमा रहेको सम्पर्क कार्यालयमा तोडफोड गर्दै कागजपत्रमा आगजनी गरेका छन् ।
मोर्चा कार्यकर्ताहरूले नेकपा (एमाले) केन्द्रीय सदस्य सुमनराज प्याकुरेलको घरमा ढुङ्गामुढा गरी सिसाहरू फुटाउनुका साथै घरबाहिर रहेका फर्निचर सडकमा ल्याई आगजनी गरेका छन् ।
यसैगरी मोर्चाका कार्यकर्ताले राजविराज नपा-५ मदननगरस्थित एमाले जिल्ला पार्टी कार्यालयको झण्डा निकालेर आगजनी गर्नुका साथै जिल्ला निर्वाचन कार्यालयको बोर्ड र सिसाहरू तोडफोड गरेका छन् ।