बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ४१ वर्षीय छबिलाल सुवेदीलाई असोज २४ गते कार्यकक्षमै मोबिल प्रहारको प्रयास गरी दुर्व्यवहार गरेको भन्दै मुगुका १९ वर्षीय जीवन बिकलाई प्रहरीले गिरफ्तार गरेको छ । घटनामा सलंग्न अन्य तीन जना ‘फरार’ रहेका छन् ।
पीडितलाई आरोपितहरूले कार्यकक्षमा बसेर काम गरिरहेको अवस्थामा एक्कासी भित्र छिरेर कालोपदार्थ प्रहार गरी दुव्र्यवहार गरेको पीडितले बताउनुभयो ।

मोबिलको प्रहारबाट अधिकृत सुवेदी बस्ने कुर्सी, टेबुल र कुर्सी पछाडि भित्तामा समेत असर पुगेको छ ।
यसअघि पटकपटक चन्दा मागिएको र आफूले दिन नमिल्ने भनेपछि यो घटना भएको सुवेदीको भनाइ छ । मोबिल प्रहार गरेर भाग्दै गरेको अवस्थामा कार्याकक्षमै रहेका जनप्रतिनिधिले एक जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।
‘विगतमा पनि चन्दा माग भएको थियो । दिन सकिएन ।’–उहाँले भन्नुभयो–‘पहिला आउने र अहिले आएकाहरू समूह फरक होलान् ।’

गिरफ्तार गरिएका आरोपितलाई हाल हिरासतमा राखी घटनाको अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी श्यामकुमार राईले बताउनुभयो ।
‘नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले यसअघि कुनै पनि समयमा यस्तो सुरक्षा थ्रेट रहेको जानकारी नगराएको र घटनापछि मात्रै विगतमा चन्दा माग भएको हुँदा आफूले नदिएको बताउनुभएको छ ।’–उहाँले बताउनुभयो ।

घटनास्थलबाट प्रहरीले युवा सङ्गठन नेपालको नाममा रहेको सहयोगी रसिद, एक सेट मोबाइल, घडी, कलम लगायतका सामग्री बरामत गरेको छ ।
यसअघि पनि बेनी नगरपालिका–२, ज्यामरुककोटका वडाध्यक्ष हिराबहादुर थापालाई दुई वर्ष अगाडि अपरिचित व्यक्तिहरूको समूहले कार्यकक्षमै रहेको समयमा मोसो दलेर दुव्र्यवहार गरेको थियो ।
