राउटे समुदायमा दिइने सामाजिक सुरक्षा भत्ता समयमा वितरण गरिनुपर्ने लगायत उक्त समुदायको संरक्षणका सवालमा अधिकारकर्मीको टोलीले असोज १९ गते सामाजिक विकास मन्त्री यज्ञबहादुर विसी समक्ष ध्यानाकर्षण गराएको छ ।
सामाजिक विकास मन्त्रालयले राउटे वस्तीमा खटाएका कर्मचारी नियमित नबस्दा राउटे समुदाय असुरक्षित भएको, दशैँ नजिकिदै गर्दा उनीहरूले पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता नपाएको लगायतका विषयमा सामाजिक विकास मन्त्रीको ध्यानाकर्षण गराइएको इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी गराउनु भयो ।
अधिकारकर्मीको टोलीले सामाजिक मन्त्रीसमक्ष राउटे जुन पालिकामा बस्छन सोही पालिकाबाट समयमा सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था मिलाउनु पर्ने, वस्तीमा पोषण कार्यक्रम सञ्चालन गर्नुपर्ने, राउटेलाई नगद दिनु भन्दा आवश्यक खाद्यान्न एकद्वार प्रणालीबाट वितरण गर्नुपर्ने र राउटे वस्तीमा विश्वासिलो व्यक्तिबाट परामर्श सेवा दिनुपर्ने लगायतका विषय राखेको थियो ।
सामाजिक विकास मन्त्री विसीले राउटे समुदायको संरक्षणका लागि मन्त्रालयले गर्नुपर्ने भूमिका प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
यस समुदायको हित, संरक्षण तथा जीविकोपार्जनका लागि आर्थिक वर्ष ०७८/०७९ मा केही बजेट विनियोजन गरिएको बताउँदै मन्त्री विसीले आवश्यक कार्यविधि बनाई कार्यान्वयन गर्ने जानकारी दिनु भयो ।
मन्त्रालयबाट खटाइएको कर्मचारी राउटे वस्तीमा नियमित नभएको विषयमा बुझेर आवश्यक पहल गर्ने, राउटे वस्तीमा दिइने खाद्यान्न लगायतका सामान एकद्वार प्रणालीबाट दिने व्यवस्था मिलाउने र पोषण सम्बन्धी कार्यक्रम यस क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग समन्वय गरी सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतको संयोजनमा मन्त्रीसँग भएको छलफल कार्यक्रममा इन्सेक प्रदेश संयोजक सुवेदी, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश अध्यक्ष देविराम देवकोटा, सुर्खेत शाखाका अध्यक्ष ललित बसेल, राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालका जिल्ला अध्यक्ष कृष्णा ओली, सोही प्रतिष्ठानका जिल्ला उपाध्यक्ष बसन्ता अधिकारी, आवाजका निशा पौडेल, इन्सेकका कार्यक्रम फोकल पर्सन दुर्गा थापा, स्याकका निर्देशक टीकाराम आचार्य, वामका कार्यसमिति सदस्य रूमा थापा र पत्रकार जगतदल जनाला लगायतको उपस्थिति रहेको थियो ।
घुमन्ते जीवन बिताउँदै आएका राउटेहरू हाल सल्यानको वनगाड कुपिण्डे नपा–१ को घाटगाउँमा बस्दै आएका छन् । उक्त वस्तीमा १ सय ४१ जना राउटे रहेका छन् ।
उनीहरूले ०७८ साउनदेखि सामाजिक सुरक्षा भत्ता नपाएको राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालका जिल्ला अध्यक्ष कृष्णा ओलीले जानकारी दिनुभयो ।

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत