हत्यालाई आत्महत्या बनाउन खोजेको भन्दै मृतकपक्षले तिलोत्तमा नगरपालिका–५ मणिग्रामकी २७ वर्षीया सिता भण्डारीको मृत्यु भएको एक महिनासम्म पनि शव बुझ्न मानेका छैनन् । हत्यालाई आत्महत्या बनाएर आरोपितलाई बचाउन खोजिएको भन्दै मृतक पक्ष आन्दोलित छन् ।
सिता भदौ २० गते मृत अवस्थामा भेटिएपछि मृतकका बुवा हरिप्रसाद भण्डारीले मुखबाट रगत बगेको, गलामा चुङ्गीले कसिएको, मुखभरी निलाडाम भएको र भुँईमा लडेको अवस्थामा रहेको भन्दै भदौ २० गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएपछि प्रहरीले आत्माहत्या दुरूत्साहनको मुद्दा चलाएको थियो ।
उजुरीका आधारमा प्रहरीले मृतकका पति ४२ वर्षीय टीका पौड्याल, अमाजु ५० वर्षीया बिष्णु पौड्याललाई भदौ २० गते र जेठाजु ५३ वर्षीय हरि पौडेललाई भदौ २५ गते गिरफ्तार गरेको थियो ।
अदालतले म्याद थप गर्न नमानेको र प्रहरीले आरोपितहरूलाई छाड्ने सङ्केत गरेको भन्दै मृतकपक्षले आन्दोलन थालेका थिए ।
भण्डारी मृत्यु प्रकरणको २६ दिनपछि प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनमा सिताले सुसाइड नोट लेखेर आत्महत्या गरेको अनुसन्धानबाट देखिएको जनाएको छ । प्रहरीका अनुसार सीता र उनका पति टिका पौडेलको मोबाइलको डिजिटल फरेन्सिक ल्याबमा गरिएको प्राविधिक परीक्षणमा सीताले लेखेको सुसाइड नोट फेला परेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी सत्यनारायण थापाका अनुसार सो नोटमा ‘‘मलाई माफ गरि दिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरूकै कोखबाट जन्मिन चाहान्छु । मलाई यो जिन्दगीबाट पुग्यो म सकिन बाँच्न’ लेखिएको छ ।
‘आफ्नै दैलोकी चेलीको शङ्कास्पद मृत्यु भएको महिना दिन बित्यो, दिनहुँ आन्दोलन भएको छ तर गृहमन्त्रीले वास्तै गर्नुभएन’–मृतकका बुबा हरिप्रसाद भण्डारीले भन्नु भयो ।
घटनामा राजनीतिक र आर्थिक चलखेल भएको मृतकका माइती पक्ष र स्थानीयको आरोप छ ।
मृतकका भाई सुरज भण्डारीले केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालयले सुसाइड नोट फेला परेको भनी प्रेस विज्ञप्ति जारी गर्नु बनावटी र घटनालाई मोड्ने चालबाजी भएको आरोप लगाउनु भयो । शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।
यसैगरी, तिलोत्तमा नगरपालिकाले सीता भण्डारीको शङ्कास्पद मृत्यु र त्यससँग जोडिएका विषयमा गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराएको छ । मेयर बासुदेव घिमिरे नेतृत्वको टोलीले असोज १८ गते गृह मन्त्रालयमा मन्त्री खाँणलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
घटनाको विश्वसनीय छानबिन गर्दै वास्तविक तथ्य छिटो सार्बजनिक गर्न र दोषी उपर कानुनी कारबाही गर्न माग गरिएको छ ।