विद्यालयमा पठनपाठन चलिरहेको अवस्थामा बारेकोट गाँउपालिका–२ लिम्सास्थित वीरेन्द्र प्राथमिक विद्यालयको भवन असोज १५ गते भत्कदा उक्त विद्यालयमा अध्ययनरत बालबालिका र सट्टा शिक्षक समेत नौ जना घाइते भएका छन् ।
बालविकास कक्षा संचालन हुँदै गरेको भवनको भित्ता असोज १५ गते दिउँसो पठनपाठन भइरहेको अवस्थामा एक्कासी भत्किएपछि भागदौडको क्रममा विद्यार्थी घाइते भएको शिक्षक कालीप्रसाद थापाले इन्सेक प्रतिनिधिलाई जानकारी दिनु भयो ।
कोठाको भित्ता भत्किएपछि बालकक्षामा अध्ययनरत ६ वर्षीय हिम्मत सिंह, ६ वर्षीया स्मृति शाही, ६ वर्षीय दिप्सन नेपाली, चार वर्षीया विजया शाही, सात वर्षीया अतिथि नेपाली, ६ वर्षीया अनिशा शाही, ६ वर्षीया डिप्रेना पुन र ११ वर्षीया लिप्सीना पुन रहेका छन् ।
उक्त भवन भत्कदा विद्यालयका सट्टा शिक्षक १७ वर्षीय समिर पुन पनि घाइते भएका छन् ।
उनीहरूको उपचार आधारभूत अस्पताल लिम्सामा भइरहेको शिक्षक थापाले जानकारी दिनु भयो । घाइते मध्ये पाँच जना सामान्य रहेको र चार जना गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका डीएसपी मधुकुमार थापाले बताउनु भयो । तत्काल अन्य विद्यार्थी, शिक्षक र प्रहरीले घाइते विद्यार्थीको उद्धार गरेर अस्पताल पु¥याएका थिए ।
विद्यालय भवन जिर्ण अवस्थामा रहेको र पानी परेको अवस्थामा छत चुहिने समस्या रहेको डिएस्पी थापाले जानकारी दिनु भयो ।
असोज १४ गते रातिदेखि अविरल परेको पानी असोज १५ गते बिहानसम्म परेको र असोज १५ गते दिउँसो घाम लागेपछि घामले विद्यालयको भवन तातिएपछि भत्किएको प्रहरीले अनुमान गरेको छ ।