INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य र यातायात सेवा नपाएको ज्येष्ठ नागरिकको गुनासो

ज्येष्ठ नागरिकले निशुल्क उपचार सेवा र आरक्षणसहितको छुट नपाउने गरेको गुनासो गरेका छन् । २३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सरोकारवालासँग यहाँका ज्येष्ठ नागरिकले गुनासो गरेका हुन् ।

संविधानले व्यवस्था गरेका ज्येष्ठ नागरिकका हकहित र अधिकार कार्यान्वयनमा स्थानीय तहको कमजोरी रहेको ज्येष्ठ नागरिक सङ्घ जुम्लाका अध्यक्ष तिर्थराज भारतीले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘कार्यालयमा केही गुनासो लिएर जाँदा सम्बोधन हुने गरेको छैन । कार्यालयका प्रमुख तथा प्रतिनिधि के माग्न आयो र किन आउछन् भन्ने खालको व्यवहार गर्दछन् ।’

निःशुल्क स्वास्थ्य उपचार, आरक्षण सिटसहितको यातायात सेवामा छुट, सहज बैङ्किङ सेवा, स्वास्थ्य बीमा लगायतका सेवामा ज्येष्ठ नागरिकलाई वञ्चित गर्ने गरिएको उहाँले आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो–‘अस्पतालमा निःशुल्क उपचार, यातायातमा ५० प्रतिशत छुट, निःशुल्क स्वास्थ्य बीमालगायत ज्येष्ठ नागरिकका अधिकार कुण्ठित भएका छन् ।’

सङ्घीय संरचनापछि लक्षित वर्ग तथा ज्येष्ठ नागरिकका हकहित अधिकार कार्यान्वयनमा ढिलासुस्ती भइरहेकाले कुनै कार्यालयमा जाँदा मगन्तेजस्तो व्यवहार गर्ने गरेको समेत अध्यक्ष भारतीको आरोप छ ।

ज्येष्ठ नागरिकको सुरक्षा, सेवा सुविधा तथा हकहित अधिकार कार्यान्वयनका लागि जुम्लाका आठै स्थानीय तहले बेवास्ता गरेको तातोपानी गाउँपालिका–६ खड्कवाडाका ज्येष्ठ नागरिक दलबहादुर खड्काले बताउनुभयो ।

उहाँका अनुसार अस्पताल, सार्वजनिक सवारी साधान, बैङ्कलगायतका क्षेत्रमा ज्येष्ठ नागरिक अपहेलित भइरहेका छन् ।

उहाँले भन्नुभयो–‘अहिले सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत वितरण गर्दा ज्येष्ठ नागरिकले धेरै कष्ट गर्नु परेको छ । एक दिनको पैदल बाटो हिँडेर गाउँपालिका मुकाममा रहेको बैङ्कमा लाइनमा बसेर सामाजिक सुरक्षा भत्ता बुझ्नु परेको छ ।’

भत्ता वितरणमा अनियमितता भएको नाममा बैङ्किङ प्रणालीबाट उक्त भत्ता उपलब्ध गराउने व्यवस्था लागु गरेपछि ज्येष्ठ नागरिकले बैङ्कसम्म आउन कष्ट व्यहोर्नु परेको उहाँको गुनासो छ ।

दिवसका अवसरमा दोसल्ला ओढाएर, टोपी लगाइदिएर र हर्लिक्स दिएर औपचारिकता निभाउने गरेको तर अरु बेलामा ज्येष्ठ नागरिकलाई व्यवहारमा अपहेलित गर्ने गरेको चन्दननाथ नगरपालिका–१ चलिचौरका ज्येष्ठ नागरिक दयादत्त हमालको गुनासो छ ।

अन्तरक्रिया कार्यक्रममा मानव अधिकार आयोग जुम्लाका मानव अधिकार अधिकृत किरण बरामले संविधानमा ज्येष्ठ नागरिकका हक अधिकार, अवस्था, समस्या तथा आगामी दिनमा गर्नुपर्ने कार्यका विषयमा कार्यपत्र समेत प्रस्तुतीकरण गर्नु भयो ।

ज्येष्ठ नागरिकले यातायातमा पाउने ५० प्रतिशत छुटदेखि निःशुल्क उपचार, निःशुल्क स्वास्थ्य बीमा सहज बैङ्किङ् सेवालगायतका कानुनी प्रक्रियालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने उहाँको जोड छ ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले ज्येष्ठ नागरिकका लागि संविधान प्रदत्त अधिकार कार्यान्वयन गर्ने विषयमा सबै जिम्मेवार हुनु पर्ने बताउनुभयो । उहाँले भन्नु भयो–‘यसमा सबै सरोकारवाला निकाय आआफ्नो भूमिकामा जिम्मेवार हुनुको विकल्प छैन ।’

चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले ज्येष्ठ नागरिकको सेवा प्रति सधै जिम्मेवारिपुर्वक काम गर्दै आएको बताउनुभयो ।

उहाँले गत वर्षको सामाजिक सुरक्षा भत्ता सङ्घीय सरकारबाटै निकास ढिला आएकाले आठ महिनाको रकम एकमुष्ट वितरण गरिएको बताउनु भयो । ‘यसबर्ष त्यस्तो हुने छैन । समयमै पहल गरेका छौँ ।’–उहाँले भन्नु भयो ।

अन्य

भिडियो