INSEC Online

📅 २०८३ जेष्ठ २१

सदरमुकाममा खानेपानी अभाव हुँदा स्थानीयलाई सास्ती

जुम्लाको सदरमुकाम खलङ्गामा खानेपानीको अभाव हुँदा  स्थानीयले सास्ती भोग्नु परेको छ ।

जनघनत्व बृद्धि भएसँगै पानीको स्रोत कम हुँदै गएपछि खानेपानीको अभाव भएको हो ।

चन्दननाथ नगरपालिका–४ मालाभिडका स्थानीय गणेश पण्डितले खानेपानीको लागि बनेका संरचना व्यवस्थित तथा दिर्घकालिन नबनाउँदा स्थानीयले सास्ती भोग्नुपरेको दुःखेसो पोख्नुभयो ।

उहाँले भन्नुभयो–‘पहिले बनाएका ट्याङ्की र पाइप लाइन प्रयोग गर्न नमिल्ने भएका छन्, ट्याङ्कीमा पानी पनि खस्दैन ।’ उहाँले अहिले स्थानीयले खोला तथा खोल्साको पानीबाट गुजारा चलाइरहेका बताउनुभयो ।

यसैगरी स्थानीय धर्मराज बोहराले भन्नुभयो,–‘हामी धमिलो पानी खान बाध्य छौं । प्रयोगमा नआउने फिल्टर ट्याङ्की बनाएर कुनै अर्थ छैन ।’

उहाँका अनुसार सदरमुकामको ठिन्केस्थित निर्माणाधिन फिल्टर ट्याङ्की प्रयोगमा नआउँदै जीर्ण बन्दै गएको छ ।

photo20210930 jumla 2

संघीयतापछि खानेपानी कार्यालय फेरबदल भएको र बजेट अभावका कारण आयोजनामा पनि समस्या आएको खानेपानी उपभोक्ता समिति जुम्लाले जनाएको छ ।

खानेपानी आयोजना जुम्लाको २ करोड रूपियाँमा खानेपानी उपभोक्ता समितिले खलङ्गामा फिल्टर ट्याङ्की बनाउन थालेको छ ।

०६८ को जनगणना अनुसार ४ हजार २ सय ७१ घरधुरी रहेको खलङ्गामा १ हजार ६ सय घरधुरीमा मात्र खानेपानीका धारा जडान गरिएका छन् ।

धारा जडानका लागि खलङ्गा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमा अहिले पनि ७० देखि ८० ओटा  निवेदन आइरहेको समितिका महासचिव मिनबहादुर थापाले बताउनुभयो ।

नगरपालिकामा जनसङ्ख्या वृद्धि हुँदै गएकोले सबैलाई खानेपानी पुर्‍याउन नसकिएको महासचिव थापाको भनाइ छ ।

सबै घरधुरीमा पर्याप्त मात्रामा खानेपानी पु¥याउने उद्देश्यका साथ ट्याङ्की निर्माण भए पनि अहिले कतिपय ट्याङ्की प्रयोग विहीन भएको थापाले स्वीकार गर्नुभयो ।

photo20210930 jumla 1

उहाँले भन्नुभयो,–‘४ लाख लिटर क्षमताको ट्याङ्की बने पनि मूल पाइप लाइनका लागि काम बाँकी रहेको छ, जुन चालु आर्थिक वर्षमा सञ्चालनमा ल्याउने तयारी छ ।’

जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले समस्याको विषयमा खानेपानी कार्यालय र खानेपानी वितरण गर्ने उपभोक्ता समितिका जिम्मेवार व्यक्तिको ध्यानाकर्षण गराउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

अन्य

भिडियो