INSEC Online

📅 २०८३ जेष्ठ २१

डोटीमा आमाको नाम थरबाट नागरिकता दिन प्रशासनको आनाकानी

जिल्ला प्रशासन कार्यालयले बाबुको नागरिकता अनिवार्य चाहिने भनेपछि सायल गाउँपालिका–१ छपालीकी २० वर्षीया सुशीला रोकाया नागरिकता प्रमाणपत्र नबनाइ फर्किन बाध्य हुनु भएको छ ।

रोकायाले आमा र पतिको नागरिकता, आफ्नो जन्मदर्ता प्रमाणपत्र लगायत पेश गर्दा पनि नागरिकताको प्रमाणपत्र नपाएको आरोप लगाउनु भएको छ ।

‘आमाको र पतिको नागरिकता, मेरो जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपिहरू छन् ।’-उहाँले भन्नु भयो-‘सनाखतका लागि पति आउनुभएको छ । स्थानीय तहले अनुसूची–१ अनुसारको सिफारिस पनि दिएको छ । यति हुँदाहुँदै पनि बुबाको नागरिकता अनिवार्य चाहियो भन्दै फर्काइयो ।’

सुशीलाका बुबा रोजगारीका लागि भारत पसेको एक दशकभन्दा बढी भइसक्यो । उहाँ पाँच वर्षदेखि परिवारको सम्पर्कमा हुनुहुन्न । उहाँले नेपाली नागरिकताको प्रमाणपत्र लिएनलिएको पनि थाहा नभएको सुशीलाका आफन्त गणेश रोकायाले बताउनु भयो ।

‘कि बुबाको नागरिकता अनिवार्य चाहियो, कि त वडा मुचुल्का चाहियो’ भन्दै फर्काएको उहाँले बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालयले यसरी दुःख दिएको यो पहिलो घटना नभएको छपालीकै धनबहादुर नेपाली बताउनुहुन्छ ।

‘पहिले माइती पक्षको आमा, बुबा, दाइ वा भाइमध्ये एक जनाको नागरिकता भए सहजै नागरिकता दिइन्थ्यो ।’-धनबहादुर भन्नुहुन्छ-‘अचेल सेवाग्राहीलाई अनावश्यक दुःख दिने काम भइरहेको छ ।’

नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३ को परिच्छेद–२ को बुँदा नम्बर ३ अनुसार वंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्नका लागि बाबु वा आमाको नेपाली नागरिकताको प्रमाणपत्र, सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस वा जन्मदर्ता प्रमाणपत्र र तीन पुस्ताभित्रको नातेदारको नागरिकताको प्रमाणपत्र पेश गरेको अवस्थामा उक्त नातेदारसँगको नाता खुल्ने नाता प्रमाणित पत्र पेश गर्नुपर्ने व्यवस्था छ ।

यस्तै विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र, पति वा ससुराको नागरिकताको प्रमाणपत्र, पति, सासू, ससुरा, जेठाजु वा देवरमध्ये कसैको सनाखत र माइतीपट्टिको आमा, बाबु, दाजु वा भाइको नागरिकताको प्रतिलिपि पेश गर्नु पर्ने निर्देशिकाको ४(५) मा व्यवस्था छ ।

निर्देशिकाले बुबाको नागरिकतालाई अनिवार्य नबनाएको भए पनि आफूहरुले अनिवार्य बनाएको डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनु भयो ।

‘कार्यविधिको कुरा एउटा हो । हामीले काम गर्दै जाँदा आइपरेका व्यावहारिक कठिनाइ पनि छन् ।’- जोशीले भन्नु भयो-‘डोटीमै पनि नागरिकताका सात/आठ अप्ठेरा घटना आइपरेका छन् । त्यसैले अलि कडाइ गरिएको हो ।’

नागरिकताकै कारण कर्मचारीहरूले अख्तियारमा तारेख लगाउनु पर्ने अवस्था आएको उहाँको भनाइ छ । उहाँले बुबाको नागरिकता प्रमाणपत्र नभए वडाको मुचुल्का ल्याउन भनेर पठाएको जानकारी दिनु भयो ।

नागरिकतासम्बन्धी ऐन, नियम र निर्देशिका २०६३ कै कायम रहेको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङ बताउनुहुन्छ ।

उहाँ भन्नु हुन्छ-‘आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेश गरे पुग्छ । बुबाकै नागरिकता अनिवार्य होइन ।’

माइती पक्षको आमा, बुवा, दाजु वा भाइमध्ये कुनै एकको नागरिकता पेश गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको सूचना अधिकारी तामाङले बताउनु भयो ।

छपाली डोटी जिल्लाकै दुर्गम ठाउँ हो । छपालीबाट एक दिनभरि कच्ची सडकको यात्रापछि मात्रै जिल्ला सदरमुकाम पुगिन्छ । एक दिन आउने, एक दिन जाने र एक दिन नागरिकता प्रमाणपत्र बनाउने तीन दिन नागरिकता बनाउनकै लागि खर्च गर्नुपर्ने बाध्यतामा रहेकी सुशीलाले रित्तो हात घर फर्कनु पर्दा नरमाइलो लागेको सुनाउनु भयो ।

अन्य

भिडियो