धनुषा र महोत्तरीको संयुक्त कारागारको रूपमा रहेको जलेश्वर कारागारमा कैदीबन्दीलाई भेट्न आउने परिवारका महिलालाई कारागारकै कर्मचारीले ‘जिस्क्याउन’ थालेपछि कैदिबन्दीले असोज १२ गते आन्दोलन गरेका छन् ।
भेट्न आउने परिवारका सदस्यलाई जलेश्वर कारागारमा करारमा कार्यरत सवारी चालक धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–८ निवासी प्रेमकान्त ठाकुरले जिस्क्याउने गरेको भन्दै कैदीबन्दीले कारागार भित्र नाराबाजी गरी कारागारको भित्री ढोका भित्रबाटै बन्द गरी सवारी चालक ठाकुरलाई कारवाही गर्न कारागार प्रशासनसँग माग गरेका थिए ।
कारागारका चौकीदार चन्द्रदिप यादवले समेत ति चालकले कैदीबन्दीलाई भेट्न आउने महिलाहरूलाई जिस्काउने गरेको गुनासो आइरहेको बताउनु भयो ।
कैदिबन्दीको संयुक्त हस्ताक्षरसहित कारागार प्रसाशनसमक्ष चालक ठाकुरलाई कारवाहीको माग गर्दै निवेदन दिएको तयार पार्दै गरेको यादवले बताउनु भयो ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले घटनाबारे जानकारी आइसकेको र अनुसन्धान गरी दोषी देखिए तत्काल कानुन बमोजिम कारवाही गर्न समेत कारागार प्रशासनलाई निर्देशन दिइसकिएको बताउनु भयो ।
उहाँले कैदी बन्दीलाई भेट्न आउनेलाई जिस्क्याउने लगायतका कुनै पनि हर्कत क्षमायोग्य नहुने भन्दै दोषी देखिनेलाई कारवाही हुने बताए ।
कारागारका निमित कार्यालय प्रमुख सञ्जिवकुमार साहले सामान्य कुरा रहेको भन्दै घटना टार्न खोजेपनि इन्सेककर्मीसहित पुगेका सञ्चारकर्मीले घटनाबारे थाहा पाइसकेको बताएपछि उहाँले घटना भएको भन्दै स्वीकार्नु भएको थियो ।
उहाँले कानुन बमोजिम नै सवारी चालकलाई कारवाहीको लागि प्रकृया अगाडि बढाइएकोसमेत जानकारी दिनु भएको छ ।