गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा १२ औँ पटक पेशी सारेर १३ औँ पेशीको मिति चैत २४ गतेलाई तोकिएको छ ।
न्यायाधीशको कार्य व्यस्तताले फागुन २३ गतेको पेशी हेर्न नभ्याइएको चितवन अदालतका सूचना अधिकारी कृष्ण बरालले जानकारी दिए ।
०७२ फागुन २७ गतेबाट पेशी सर्दै आएकोमा ०७३ फागुन २३ गतेसम्म आइपुग्दा १२ औँ पटक पेशी सरेको हो ।
०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय, चितवनमा उजुरी दिएका थिए ।
त्यसको १ वर्ष ६ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरूद्ध किटानी जाहेरी दिएका थिए । तत्कालीन माओवादी कार्यकर्ताले ०६१ जेठ २४ गते कृष्णप्रसाद अधिकारीको अपहरण गरी हत्या गरेका थिए ।
गोरखा जिल्ला फुजेल-७ बस्ने सिता अधिकारी, छविलाल पौडेल, रामप्रसाद अधिकारी, अजिव भन्ने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, रूद्र आचार्य, काल्रि्रसाद अधिकारी, भिमसेन भन्ने भिष्मराज पौडेल, रामप्रसाद अधिकारी, जानुका पौडेल र सुभद्रा तिवारीलाई विपक्षी बनाइ चितवन अदालतमा मुद्दा दायर भएको छ ।
सर्वोच्च अदालतले आरोपितमध्ये छविलाल पौडेललाई गिरफ्तार गरी अनुसन्धान गर्न भनेपनि एक वर्षसम्म पनि उनलाई गिरफ्तार गरिएको छैन ।