INSEC Online

📅 २०८३ जेष्ठ २१

चार जिल्लामा पोलियो खोप कार्यक्रम सुरु भएन

स्वास्थ्यकर्मीको अवरोधका कारण फागुन २१ र २२ गते हुने ‘विशेष पोलियो खोप कार्यक्रम’ चार जिल्लामा सञ्चालन हुन नसकेको राससले जनाएको छ ।

सुरु भएका अन्य जिल्लामा पनि सबै स्थानमा सहज रुपमा सञ्चालन हुन नसकेको बालस्वास्थ्य महाशाखाले जनाएको छ ।

स्वास्थ्यकर्मीले स्वास्थ्य संस्थामा ताला लगाई अवरोध गरेका कारण सिरहा, सप्तरी, महोत्तरी र कैलालीमा आज पोलियो खोप कार्यक्रम सञ्चालन हुन नसकेको हो ।

सरकारले तराईका कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिरहा र सुनसरी तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरमा पोलियो खोप कार्यक्रम गर्ने तय गरेको थियो । ती जिल्लाका पाँच वर्षमुनिका १६ लाख ९२ हजार ३ सय १५ जना बालबालिकालाई पोलियो खोप लगाउने कार्यक्रम छ ।

कपिलवस्तु, काठमाडौँ, ललितपुर र बर्दिया जिल्लामा भने सहजरुपमा कार्यक्रम भएको स्वास्थ्य मन्त्रालय बालस्वास्थ्य महाशाखाका खोप शाखाका कार्यक्रम अधिकृत वसन्त श्रेष्ठले जानकारी दिए । धनुषामा भने साँझ ५ बजेपछि मात्र खोप कार्यक्रम सञ्चालन भएको उनले बताए ।

उनले कार्यक्रम सुरु नभएका र सुरु भएर पनि अवरोध भएका जिल्लामा २२ र २३ गतेसम्म बालबालिकालाई पोलियो खोप लगाउने विश्वास व्यक्त गरे ।

पोलियो खुवाइने जिल्लामा केही स्वास्थ्यकर्मीले अवरोध गरेमा सुरक्षा व्यवस्था मिलाई सेवा सञ्चालन गराउन स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको भए पनि कार्यक्रम सुरु भएका केही जिल्लाका धेरै गाविसमा भने अवरोध कायम रहेको छ ।

इन्सेक धनुषा जिल्ला प्रतिनिधि विनोदकुमार रविदासका अनुसार स्वास्थ्यकर्मीहरू ०७३ पुस १९ गते निरन्तर आन्दोलनमा रहेका कारण धनुषामा पोलियो खोप पूर्ण रूपमा प्रभावित हुँदा बालकालिकाहरू पोलियो खोपबाट वञ्चित भएका छन् ।

स्वास्थ्यकर्मीको आन्दोलनका कारण करिव १ लाख भन्दा बढी बालबालिकाहरू पोलियो खोपबाट वञ्चित भएका हुन् ।

सरकारले फागुन २१ गतेबाट धनुषामा पोलियो खोप कार्यक्रम सञ्चालन गर्ने भनेपनि  स्वास्थ्यकर्मीहरूका सङ्घसङ्गठनले विभिन्न माग राखी जिल्ला जनस्वास्थ्य कार्यालयमा ताल्चा लगाएर फागुन २ गतेदेखि धर्नामा बसेपछि खोप कार्यक्रम प्रभावित भएको हो ।

स्वास्थ्यकर्मीहरूको संयुक्त ट्रेड युनियन सङ्घर्ष समिति धनुषाले फागुन २१ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्मको लागि तय गरिएको पोलियो खोप अभियानलाई पूर्णतः असफल पारेको जनाएको छ ।

इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार स्वास्थ्य सेवा ऐन कार्यान्वयनको माग राखी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रेपछि महोत्तरीमा पोलियो खोप खुवाइने अभियान सुरु हुन सकेन ।

स्वास्थ्यकर्मीको आन्दोलनका कारण पोलियो खोप अभियानका लागि चाहिने सामग्री खोप केन्द्रमा पठाउन नसकिएकाले शहरी तथा ग्रामीण क्षेत्रका १ लाख १० हजार  बालबालिका खोपबाट वञ्चित भएका हुन् ।

खोप तथा पोलियो थोपाबाट वञ्चित भएका दुधे बालबालिकाको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने जिल्ला स्वास्थ्य प्रमुख मनिष पाण्डेले बताए ।

अन्य

भिडियो