पाल्पा सदरमुकाम तानसेनका उपभोक्ताहरू दुई महिनादेखि दुषित पानी पिउन बाध्य भएका छन् ।
तानसेन खानेपानी उपभोक्ता समितिको लापरबाहीका कारण पछिल्लो दुई महिना यता धारामा हिलो, धमिलो, कालो लेदो सहितको पानी वितरण भइरहेको उपभोक्ता गङ्गाधर भट्टराईको आरोप छ ।
सरकारी स्वामित्वमा रहेको तानसेनको खानेपानी व्यवस्थापन २०६८ सालदेखि उपभोक्ता समितिमा हस्तान्तरण भएको थियो तर उपभोक्ता समितिको लापरबाहीका कारण उपभोक्ताहरू शुद्ध खानेपानी पिउनबाट वञ्चित भएका छन् ।
कहिले महिनौँसम्म धारामा पानी नआउने, कहिले अनियमित वितरण, कहिले फोहोर र धमिलो पानी, यस्तै समस्याका भोग्नु परेको पाल्पा व्यापार सङ्घका अध्यक्ष चिरञ्जिवी पोखरेलले आरोप लगाउनु भयो ।
उहाँले व्यापार सङ्घको तर्फबाट उपभोक्ता समितिलाई पानी शुद्धिकरण र नियमित रुपमा वितरण गर्न मौखिक रुपमा खाने पानी उपभोक्ता समितिको ध्यानाकर्षण समेत गराइएको बताउनु भयो ।
तानसेनमा खानेपानी समस्याको समाधानका लागि जेठ ९ गतेबाट कालीगण्डकी लिफ्ट खानेपानी आयोजना सञ्चालनमा आएको छ ।
तर, त्यसयता तानसेनको खानेपानी धारामा हिलाम्य, लेदो, सेतो फिज, कालो लेदो मिसिएको धमिलो पानी पिउन परेको उपभोक्ता गङ्गाधर भट्टराईको भनाई छ ।
धमिलो पानी प्रशोधन नगरी वितरण गरिएकाले रोगको जोखिमसमेत बढेको उपभोक्ता गङ्गाधर भट्टराईले आरोप लगाउनु भयो ।
दुषित पानीले झाडापखला लगायतका सङ्क्रमण फैलिन सक्ने भएपनि त्यसको व्यवस्थापनमा कसैको ध्यान जान सकेको छैन ।
तानसेन खानेपानी उपभोक्ता समितिका कार्यबाहक अध्यक्ष डा. पुरनमान बज्राचार्यले बर्सातको समय भएकाले पानीको मुहानबाटै फोहोर पानी आएकोले समस्या भएको बताउनु भयो । कालीगण्डकीको पानी मुहानमा पस्न गएकाले पानी धमिलो, लेदो आउने गरेको उहाँको भनाइ छ ।
स्थानीय भुल्के र सिस्नेको पानी पनि लिफ्टिङ कालीगण्डकीकै पानीमा मिसाइएको छ । यहाँ भुल्केको पानीमा पनि सडक निर्माण गर्दा पाइपमा फोहोर पसेकाले धमिलो आउने गरेको छ । बर्सातको समय सकिएपछि मात्रै यो समस्या समाधान हुने उहाँले बताउनु भयो ।
खानेपानी उपभोक्ता समितिमार्फत तानसेन बजार क्षेत्रमा ४ हजार धारा जडान गरिएको उपभोक्ता समितिका सचिव केशव पौडेलले बताउनु भयो ।
समस्या समाधानका लागि तानसेन नगरपालिकाले नागरिक परामर्श समिति बनाएर योजना अगाडि बढाए पनि टुङ्गो नलागेको नगरपालिकाका प्रशासकीय अधिकृत दुर्गा थापाले बताउनु भयो ।