जनकपुरधाम उपमहानगरपालिकाको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), लैङ्गिक हिंसा न्यूनीकरण सञ्जाल समिति धनुषा, कोशिश नेपाल, निलहिरा समाज, जिल्ला युवा सञ्जाल र ओरेक लगायतका सङ्घ संस्थाहरूको सहकार्यमा भदौ २५ गते जनकपुरधाम उपमहानगरपालिका–२३ विन्ही गाउँमा विश्व आत्महत्या रोकथाम दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
“कार्यमार्फत आशाको सिर्जना” भन्ने मूल नाराका साथ विन्ही गाउँमा निकालिएको प्रभातफेरी कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले अशिक्षा, जनचेतना तथा बेरोजगारीको कारण आत्महत्या गर्नेहरूका सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको बताउनु भयो ।
हरेक व्यक्तिमा आ–आफ्नो चाहना हुन्छ र सो चाहनालाई परिवारजनले बुझ्नु आवश्यक रहेको उल्लेख गर्नु हुँदै उहाँले हरेक घरका व्यक्तिले आफ्ना परिवारका सदस्यहरूको ख्याल राख्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले आत्महत्या घटना न्यूनीकरण गर्नका लागि आत्महत्या रोकथाम दिवसलगायत सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा इन्सेक प्रदेश २ प्रमुख राजु पासवानले प्रदेश २ मा गरिवी, अशिक्षा, बेरोजगारी तथा समाजमा विद्यमान बालविवाह, दाइजो प्रथा, कथित वोक्सी जस्ता सामाजिक कुप्रथा, घरेलु हिंसा, अन्तरजातीय प्रेम विवाह लगायत पारिवारिक तनावका कारण आत्महत्याको घटना बढेर गएको बताउनु भयो ।
तीन तहकै सरकारले प्रदेश २ मा आर्थिक सशक्तिकरण र रोजगारी लगायतका नीति तथा कार्यक्रमहरू ल्याउनु पर्नेमा इन्सेक प्रदेश प्रमुख पासवानले जोड दिनु भयो ।
जिल्ला प्रहरी कार्यालय धनुषका एसपी तथा लैंगिक हिंसा न्युनिकरण सञ्जाल समिति धनुषाका अध्यक्ष प्रकाश रानाभाटले अत्महत्या घटना न्युनिकरणका लागि मानोपरामर्श र जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउनु भयो ।
सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा भदौ २५ गते लहानमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले जिल्लामा बढ्दो आत्महत्या घटना रोकथामको लागि साझा पहलको आवश्यकता रहेको बताउनु भएको छ ।
लहान नगरपालिका, इन्सेक, मानव अधिकार संरक्षण केन्द्र सञ्जाल र महिला मानव अधिकार रक्षक सञ्जाल, समग्र जन उत्थान केन्द्र, ओरेक नेपाल, मुिक्त नेपाल, कोशिश नेपाल, दलित जन कल्याण युवा क्लब, सिएमसी नेपालको सहकार्यमा लहान नगरपालिकाको सभा हलमा आयोजित आत्महत्या रोकथामका लागि सरोकारवालको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले आत्महत्याको घटना दिनदिनै बढ्दै गएपनि यसको रोकथामको लागि प्रयाप्त पहल हुन नसकेकोमा चिन्ता व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा सहभागी लहान नगरपालिकाका उपप्रमुख सरियार चौधरीले सामाजमा रहेको हानिकारक सामाजिक मुल्यमान्यताका कारण महिलाहरू आत्महत्या गर्न बाध्य भइरहेकोले आत्महत्याको घटना रोकथामका लागि हानिकारक सामाजिक मुल्यमान्यताको रुपान्तरण आवश्यक रहेको बताउनु भयो ।
इलाका प्रसाशन कार्यालय लहानका प्रमुख कृष्णबहादुर खड्काले समाजमा अस्वस्थ प्रतिस्पर्धा र एकअर्कासँग तुलना गर्ने प्रवृतिले आत्महत्याको घटना बढेको बताउनु भयो ।
उहाँले आत्महत्याको घटना रोकथामका लागि कुनै एकपक्षको सक्रियताले नहुने भन्दै सबै पक्षको साझा पहल आवश्यक रहेको बताउनु भयो ।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी डा. तपन दाहालले लहान नगर भित्र चालु आर्थिक वर्षमा नौ जनाले आत्महत्या गरेको तथ्याङ्क प्रस्तुत गर्दै आत्महत्याको घटना न्युनिकरणका लागि सचेतनाको कार्यक्रम तिव्रगतिमा सञ्चान गर्नुपर्ने बताउनु भयो ।
पशुपति आर्दश माविका प्रध्यानाध्यापक डा. महेन्द्रप्रसाद चौधरीले आत्महत्याको घटना रोकथामका लागि विद्यालयहरूमा तनाव व्यवस्थापन तथा जीवनउपयोगी सिपको बारेमा विद्यालयका विद्यार्थीहरूलाई समयसमयमा नियमित रुपमा अभिमुखिकरण गर्नुपर्नेमा जोड दिनु भयो ।
नेपाल पत्रकार महासङ्घ सिरहाका अध्यक्ष मनोज यादवले आत्महत्यालाई निरुत्साहित गर्ने किसिमको सामग्री सञ्चार माध्यमको प्राथमिकताका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।







