INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वारोजगार कार्यक्रम अन्तर्गत काम गरेका मजदुरले ज्याला पाएनन्ः ज्याला उठाइदिन इन्सेकसमक्ष आग्रह

रुबीभ्याली गाउँपलिका–५ चपाङचेत कुचेत गोरेटो बाटो निर्माणको लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत सहभागी मजदुरहरूले ज्याला नपाएपछि इन्सेकसँग ज्याला उठाउने वातावरण बनाउन र किर्ते काम गर्नेलाई कारबाहीका लागि पहल गर्न आग्रह गरेका छन् ।

कार्यक्रम अन्तरगत गठित सडक निर्माण समितिका कोषाध्यक्ष मंगनी तामाङले सडक निर्माणमा संलग्न २२ जना मजदुरले काम गरेको ज्याला नपाएकोले समितिका अध्यक्ष नेत्रबहादुर तामाङलाई कारबाही गर्न र मजदुरहरूको रकम पाउने वातावरण बनाइदिन ०७८ भदौ २३ गते इन्सेक प्रतिनिधिलाई भेटेर आग्रह गर्नु भएको हो ।

समितिका कोषाध्यक्ष तामाङ्ले आफूलाई राम्रोसँग लेखपढ नआउने भए पनि कोषाध्यक्षमा जबरजस्ती राखेको र अहिले आफ्नो हस्ताक्षर बिना नै अध्यक्ष तामाङले बैँकबाट सबै मजदुरको रकम झिकेर नदिएको उहाँको गुनासो छ ।

प्रधानमन्त्री स्वारोजगार अन्तरगत चपाङचेत कुचेत गोरेटो बाटो निर्माण गर्नका लागि सोही टोलमा सूचिकृत २२ जना बेरोजगारहरूले काम गरेका थिए ।

०७८ वैशाखदेखि सुरु भएको काम असारमा सम्पन्न भएपछि निर्माण समितिका अध्यक्षले रकम लिएर कामदारहरूलाई नदिएको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका स्थानमा उजुरी गरे पनि अझै सुनुवाइ नभएको मजदुरहरूको गुनासो छ ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत कुनै योजना गर्नका लागि गाउँमा निर्माण समिति गठन गरी सोही समितले वडा अध्यक्ष समेतको निगरानीमा योजना सम्पन्न गर्ने गरिन्छ ।

तर, चपाङचेत कुचेत गोरेटोबाटो निर्माण मर्मत योजनामा वडा अध्यक्षको समेत सिफारिस बिना नै गाउँपालिकाले समेत भुक्तानी दिएकोले अनियमितता भएको र मजदुरहरूले काम गरेर पनि ज्याला नपाएको वडा अध्यक्ष धिराज तामाङले बताउनु भएको छ ।

निर्माण समितिका कोषाध्यक्ष मंगनी तामाङले आफूले बैँकको कुनै पनि कागजमा सहिछाप नगरेको तर, रकम झिकेर समितिको अध्यक्ष नेत्रबहादुर तामाङले काम गर्नेहरूलाई ज्याला नदिएको बताउनु भएको छ ।

स्वोरोजगार योजनामा सूचिकृत व्यक्तिहरूले एक सय दिन काम गरेपछि प्रति व्यक्ति ५० हजार १ सय ४९ रुपैयाँ ज्याला पाउँछन् । यो योजनामा भने २२ जनाको सबै रकम व्यवस्थापन समितिका अध्यक्षले झिकेर केही व्यक्तिहरूलाई थोरै रकम दिइएको छ भने धेरै जसोले ज्याला नपाएको गुनासो गरेर जिल्ला प्रशासन कार्यालयमा असार ३० गते नै उजुरी गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयले मजदुरले ज्याला मात्र नपाएको मात्र विषय नभएको र किर्ते समेत गरेको गुनासो उजुरी कर्ताहरूले गरेका कारण जिल्ला प्रहरी कार्यालयलाई अनुसन्धान गरी आवस्यकता अनुसार कानुनस् दायरामा ल्याउन पत्र पठाइएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको जनाएको छ । तर ज्याला नपाएको बताउने मंगनी तामाङ भने जिल्ला सदरमुकाममा आफू बिरामी भएर पनि उपचार गराउन नसकेको बताउनुभएको छ ।

प्रधानमन्त्री स्वारोजगार कार्यक्रममा काम गरेर पनि मोहन लामा तामाङ, मनसिङ तामाङ र योनजम तामाङले कनै पनि रकम नपाएकोले आफूले समेत रकम नलिएको कोषाध्यक्ष मंगनी तामाङले बताउनुभयो ।

अन्य

भिडियो