स्ववियु निर्वाचनको विषयलाई लिएर विभिन्न क्याम्पसहरूमा विद्यार्थी सङ्गठनहरूबिच फागुन १८ गते झडप हुनुका साथै आगजनी तथा तोडफोडका घटना भएको मध्यमाञ्चल क्षेत्र अन्तर्गका धादिङ र चितवन जिल्ला प्रतिनिधिहरूले बताएका छन् ।
इन्सेक धादिङ जिल्ला प्रतिनिधि सीताराम अधिकारीका अनुसार अखिल क्रान्तिकारी, नेविसङ्घ र अनेरास्ववियु कार्यकर्ताबिच आज धादिङको बेनिघाट गाविस-१ मलेखुमा झडप हुँदा स्ववियु समानुपातिक उम्मेदवार रहेका अखिल क्रान्तिकारीका सुजाता भट्ट र नेविसङ्घका तर्फबाट समानुपातिक उम्मेदवार रहेका सुस्मिता रूपाखेती घाइते भएका छन् ।

घाइतेको न्यूरो अस्पताल काठमाडौँमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । भट्टको टाउकोमा चोट लागेको छ भने रूपाखेती बेहोस अवस्थामा उपचार लागि पठाइएको हो । झडप भएपछि स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको क्याम्पस प्रशासनले जनाएको छ ।
अखिल क्रान्तिकारी र नेविसङ्घको प्यानल र अनेरास्ववियुका उम्मेदवारबिच स्ववियु निर्वाचन हुने जयबागेश्वरी क्याम्पस मलेखुमा स्ववियु निर्वाचनको समयमा क्याम्पसमा राति नै ताला लागेकोले सो विषयमा विवाद हुँदा झडप भएको थियो ।
झडपमा फागुन १८ गते गर्ने निर्वाचन गर्न निर्धारण गरिएपछि सबै तयारी सकेर निर्वाचनको दिनमा आउँदा राति नै क्याम्पसमा ताला लागेपछि विवाद भएको क्याम्पस प्रमुख देवप्रसाद त्रिपाठीले बताए ।
इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार चुनाव नगराएको भन्दै भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा अखिल संयुक्तका विद्यार्थीले आज बिहान क्याम्पस प्रमुखको कुर्सी जलाउनुका साथै क्याम्पसमा तोडफोड गरी भौतिक क्षति गराएका छन् ।

आज हुने भनिएको स्ववियु चुनाव नभएपछि अखिल संयुक्तले तोडफोड गरेको जनाएको छ । क्याम्पस प्रमुखले चुनाव गर्न आलटाल गरेकाले क्षति पुर्याइएको अखिल संयुक्तका सभापति उम्मेदवार लिला पौडेलले बताए ।
तोडफोडबाट क्याम्पसका झ्यालढोका, कुर्सी, टेबुल, टेलिफोन सेटलगायतका सामग्रीमा क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दिपक श्रेष्ठले बताए । जिल्लामा एक आङ्गिक र १२ पब्लिक क्याम्पसमा चुनाव हुने भनिए पनि कुनै पनि क्याम्पसमा चुनाव हुन सकेन ।