राष्ट्रिय महिला आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को संयुक्त टोलीले भदौ १८ गते महोत्तरी जिल्लाको महिला हिंसा तथा मानव अधिकारको अवस्थाबारे अनुगमन गरेको छ ।
राष्ट्रिय महिला आयोगकी सदस्य जया घिमिरे, इन्सेक प्रदेश २ का संयोजक राजु पासवान, इन्सेक महोत्तरी प्रतिनिधि अजयकुमार साह सम्मिलित टोलीले अनुगमनको क्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, जिल्ला प्रहरी कार्यालयका एसपी दिनेश आचार्य, ओसीएससीका इञ्चार्ज चन्द्रिका थापा र जिल्लाका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा र महिला अधिकारकर्मीहरूसँग छलफल गरी जिल्लाको अवस्था बारे जानकारी लिनु भएको छ ।
सो क्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी भट्टराइले जिल्लामा महिला हिंसाको घटनामा वृद्धि हुनुमा जनचेतना र शिक्षाको स्तरमा कमि रहेको बताउनु भयो ।
वहाँले मुस्लिम समुदायको बाहुल्य रहेको सम्सी गाउँपालिका, गौशला नगरपालिका, महोत्तरी गाउँपालिका लगायतको क्षेत्रमा बालिकाहरू उच्च शिक्षामा हासिल गर्नबाट वञ्चित रहेको बताउनु भयो ।
वहाँले महिला अधिकार, स्वास्थ्य तथा प्रजनन्को अधिकार जस्ता अभिमुखिकरण कार्यक्रमहरू वडा स्तरबाट सञ्चालन गर्नु पर्ने आवश्यक्ता रहेको बताउनु भयो ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालयका एसपी दिनेश आचार्यले खुला सीमानाका कारण अपराधिक घटनाहरू नियन्त्रण चुनौती रहेको बताउनु भयो ।
वहाँले पछिल्लो पटक जिल्लामा देखिएका विभिन्न किसिमका फौजदारी अपराधहरू बलात्कार, हत्या जस्ता घटनाहरूमा पनि गाउँ मै पञ्चायत बसेर मिलापत्र गर्ने कोसिस गर्ने र नमिले मात्र प्रहरी प्रशासनमा आउने गरेको हुँदा समस्या उत्पन्न हुने गरेको बताउनु भयो ।
एसपी आचार्यले पछिल्लो समयमा आएर १३ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकाहरू भागेर बिहे गर्ने र अभिभावकले खोजेर ल्याउँदा वा भागेपछि अपहरण, बलात्कारको मुद्दा दर्ता गर्ने क्रम बढेको हुँदा स्कूलहरूमा गएर जनचेतनामुलक तालिम तथा अभिमूखीकरण कार्यक्रम सञ्चालन गर्नु पर्ने आवश्यक्ता रहेको बताउनु भयो ।
शिक्षासम्बन्धी मुख्य समस्यामा कोभिड–१९ को कारण हाल विद्यालयहरू बन्द हुँदा विद्यार्थीको शिक्षण सिकाइ प्रभावित भएको, बालविवाहका कारण विद्यालय छाड्ने दर बढी भएको, स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा औषधि नभएको, स्वास्थ्य संस्थाबाट उपलब्ध गराइने सेवाको बारेमा सबै नागरिकले जानकारी नपाएको, बालबालिकामा कुपोषणसम्बन्धी समस्या रहेको, कति प्रकारका औषधि निःशुल्क पाइन्छ भन्ने बारेमा नागरिकलाई जानकारी नभएको जस्ता समस्याहरू जिल्लामा देखिएको सरोकारबालाहरूबाट जानकारी गराइएको थियो ।
ग्रामीणस्तरका महिलाहरूको जनचेतना अभिवृद्धिको साथै आयआर्जनसम्बन्धी कार्यक्रम तथा आयोजनाहरू सञ्चालन गर्नु पर्ने आवश्यक्ता रहेको महिला अधिकारकर्मी रेखा झाले बताउनु भयो ।
जिल्लास्थित सरोकारवालाहरूलाई राष्ट्रिय महिला आयोगकी सदस्य जया घिमिरेले निकट भविष्यमा प्रदेश २ मा आयोगको कार्यालय स्थापना गरिने बताउँदै उहाँले ग्रामीण महिलाहरूको जनचेतना अभिवृद्धिसम्बन्धी क्रियाकलापहरू सञ्चालनको तयारी आयोगले गरेको जानकारी दिनु भयो ।
