मिसन इन्युज अनलाइनका सम्पादक एवम प्रेस चौतारी नेपाल कालिकोटका अध्यक्ष सिप्खाना गाविस-४ का पवित्रकुमार शाहीलाई अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य लक्ष्मण बम, जिल्ला अध्यक्ष प्रमानन्द आचार्य र जिल्ला सदस्य मनसिंह शाहीले फागुन १७ गते ज्यान मार्ने धम्की दिएको पीडित पत्रकारले आरोप लगाएका छन् ।
‘स्ववियु निर्वाचन अधिकृतलाई कालो मोसो’ शीर्षकमा मिसनइन्युज अनलाइनमा समाचार छापेको भन्दै फेसबुकमार्फत दैलेखका डेकेन्द्र थापाको हालत बनाउने धम्की दिएको पीडित पत्रकार शाहीले बताएका छन् ।
माओवादी केन्द्र निकट एकीकृत शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष रत्नसिंह साउदलाई नेविसङ्घ जिल्ला अध्यक्ष नेत्र शाहीको नेतृत्वमा आएको नेविसङ्घ र अनेरास्ववियुको संयुक्त टोलीले फागुन १६ गते मोसो दलेको आरोप छ ।
उक्त धम्कीको प्रेस चौतारी नेपाल कालिकोटले विज्ञप्तिमार्फत निन्दा गरेको छ । प्रेस चौतारी नेपाल कालिकोटका सचिव खडानन्द अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकार शाही माथि धम्की दिनेहरूलाई तत्काल कानुनी कारबाहीको माग गर्दै घटनाको घोर निन्दा गरिएको छ ।
पत्रकार शाहीले नागरिक दैनिक, एभिन्युज टेलिभिजन र मिसनइन्युज डट कम अनलाइन पत्रिकामा स्ववियु निर्वाचन अधिकृतलाई कालो मोसो, विद्यार्थी सङ्गठनबिच झडप १२ जना घाइते शीर्षकमा समाचार सम्प्रेषण गरेका थिए ।
मिसनइन्युज डटकम अनलाई पत्रिकाका सम्पादकसमेत रहेका पत्रकार शाहीलाई मिसनइन्युज डटकम पत्रिकाको कमेन्ट र स्वयम आफ्नै स्टाटसमार्फत ज्यानमार्ने धम्की आएको बताएका छन् । सदरमुकाम मान्ममा स्ववियु निर्वाचनको विषयमा विद्यार्थी सङ्गठनबिचको विवादपछि भएको झडपको समाचार सङ्कलन तथा प्रकाशनको विषयमा लिएर धम्की आएको हो ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी योगेन्द्र खड्काले घटनाका बारेमा छानबिन गरी दोषीलाई कारबाही गर्ने बताएका छन् ।