INSEC Online

📅 २०८३ जेष्ठ २१

आशै आशमा बित्नै लाग्यो भूकम्प पीडितका दुई वर्ष!

घर पूरै भत्किएको छ । भूकम्पले आधा भत्किएको गोठमा भैँसी र उनीहरूसँगै बस्छन् । आधा बाँकी रहेको गोठ पनि ढल्ने अवस्थामा छ । खड्गकोट-४ की माया परियारको नौ जनाको परिवार २० महिना देखि त्यही झुप्रोमा अटाएको छ । ‘भूकम्प गएको २० महिना भयो । १५ हजार रुपियाँ र एउटा त्रिपाल पाइयो ।’-मायाले भनिन्-‘अब त राहत आउला कि भनेको बल्ल इन्जिनियर आएका छन् ।’ भूकम्प गएलगत्तै पुगेका प्राविधिकले उनलाई घर गोठ दुवैमा बस्न नमिल्ने भन्दै रातो कार्ड दिएका थिए । सोही ठाउँकी ७८ वर्षीया डिला ढकालको अवस्था पनि मायाको भन्दा कम छैन । उनीहरूले पनि भैँसीको गोठमै दुई वर्षबिताए । ‘पोहोरको चिसो त खाइयो ।’-उनले भनिन्-‘यो वर्षपनि न्यानोमा बस्ने सपना पूरा भएन ।’

भुर्तुङ-५ का ६१ वर्षीय बलिभद्र शर्माको नाम पनि भूकम्प पीडितको सूचीमा छ । दुई कोठे छाप्रामै उनको पनि दुई वर्षबित्न थाल्यो । सरकारले राहत दिएपछि घर निर्माण गर्ने उनको सपना आजसम्म अधुरै छ । ‘गरिब दुःखी मान्छे आफ्नै पैसाले घर बनाउन सकेको छैन ।’-शर्माले भने-‘सरकारको भरोसा लाग्नै छाड्यो । बल्ल इन्जिनियर पठाएको छ ।’ धेरै भूकम्प पीडितले न्यानो कपडा पाउँदा पनि आफूहरू त्यसबाटसमेत वञ्चित भएको उनले गुनासो गरे ।

घर बनाउन त राहत आएन नै । तर, भूकम्पले घर भत्किएका सर्वसाधारणहरूमा अब कस्तो घर बनाउने भन्नेमा पनि अन्योलता छ । विवरण सङ्कलन गर्न बाहेक अरु बेला प्राविधिकहरू गाउँ पुगेका छैनन् । ‘राहतको आशा त मर्न थाल्यो घर बनाउन चाहनेहरू पनि दुविधामा छन् ।’-खड्गकोटका यमनाथ ढकालले भने-‘कस्तो घर बनाउने आफूहरूले सल्लाह सुझाव पनि कसैबाट पाइएन ।’ भूकम्पले बढी प्रभावित भएका त्यस क्षेत्रका खड्गकोट, भुर्तुङ, जयखानी, फोक्सिङ, पूर्तिघाट गाविसका भूकम्प पीडितले राहत नपाएको गुनासो गरेका छन् । उनीहरूले भने-‘अब कस्तो घर बनाउने भन्ने अन्योलका कारण घर निर्माण गर्न सकेका छैनौँ ।’ जिल्ला विकास समितिले सिफारिस गरेका ७ हजार ४ सय ८८ जना भूकम्प पीडित रहेका छन् । सबै घर परिवार राहत र प्राविधिकको प्रतिक्षामा बसेका छन् ।

भूकम्प गएको २० महिनापछि बल्ल भूकम्प पीडितहरूको घर पुनःनिमार्णका लागि गाउँगाउँमा इन्जिनियर पुगेका छन् । भूकम्प प्रभावित आवास पुनःनिर्माण कार्यक्रम अन्तर्गत पुस २६ गतेबाट ३३ जना इन्जिनियरहरूले गाउँगाउँमा पुगेर स्थलगत रिपोटिङ गरिरहेकाले ४५ दिनमा सबै काम सम्पन्न हुने जिल्ला लगत सङ्कलन व्यवस्थापन कार्यालयका प्रमुख टुकप्रसाद पोखरेलले बताए । यस अघि जिल्ला विकास समितिले सिफारिस गरेका ७ हजार ४ सय ८८ घरधुरीको अवस्था इन्जिनियरहरूले अध्ययन अवलोकन गरेर फर्किएपछि पुनःनिर्माणको काम सुरु हुने उनले बताए । यस अघि रातो र पहेँलो कार्ड जुन सुकै पाए पनि इन्जिनियरहरूले गर्ने नयाँ मापदण्ड अनुसार प्रमाणीकरण नै अन्तिम र पुनःनिर्माणको कामको थालनीको चरण हुने पोख्रेलको भनाइ छ । फागनु ९ गतेसम्म ६ हजार ७ सय ३ घरधुरीको तथ्याङ्क केन्द्रिय तथ्याङ्क विभागमा पुगिसकेको छ । कार्यालयका अनुसार छुटमा परेका १ सय १२ जनाको पनि लगत सङ्कलन गरिएको छ । ३० जना इन्जिनियरले काम सकेका छन् । एकै जना व्यक्तिको नाम दोहोरिएका र सरकारी कार्यालयसमेत ५ सय १० घर भेटिएको पोख्रेलले बताए ।

जिल्ला लगत व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले यो कामको थालनीबाट कोही अन्यायमा नपर्ने बताए । उनले व्यावस्थापन कार्यलाई प्रमाणीकरण गर्दै गर्ने र अर्को तर्फपुनःनिमार्णका लागि आउने पहिलो चरणको रकम पनि छिटो भन्दा छिटो ब्यवस्थापन गर्ने बताएका छन् ।

अन्य

भिडियो