INSEC Online

📅 २०८३ श्रावण ६

विभिन्न दलद्वारा संविधान संशोधन प्रस्ताव दर्ता

सरकारले केही दिन अघि संसदमा पेश गरेको संविधान संशोधन विधेयकमाथि विभिन्न दलका ३६ जना सांसदले १५ वटा संशोधन प्रस्ताव पेश गरेका छन् ।

संशोधन प्रस्ताव दर्ताका लागि संसद सचिवालयले दिएको फागुन १५ गतेसम्मको समयसिमा भित्र संशोधन प्रस्ताव पेश गर्ने दलहरूमा सत्तापक्ष गठबन्धनसहित अन्य विपक्षी दलहरूसमेत रहेका छन् ।

सत्ता पक्ष पार्टी नेपाली काङ्ग्रेसका सांसदहरू चन्द्र भण्डारी, अमरसिंह पुन, धनराज गुरूङ र एकीकृत नेकपा माओवादी केन्द्रका सांसद टोपबहादुर रायमाझीले प्रदेशसभाको सहमतिबिना ५ नम्वर प्रदेशको सिमा हेरफेर गर्न नहुने भन्दै संशोधन प्रस्ताव पेश गरेका हुन् ।

यसैगरी सत्ता पक्षमै रहेको मधेसी मोर्चाले सीमाङ्कन हेरफेर गर्न माग गर्दै संशोधन प्रस्ताव दर्ता गरेको छ । संशोधन प्रस्तावमा प्रदेश नम्वर २ मा झापा, मोरङ र सुनसरीका साथै चितवनका ११ गाविस मिसाउन र प्रदेश नम्वर ५ मा नवलपरासीदेखि कञ्चनपुरसम्मका तराईका जिल्लालाई समावेश गरी प्रदेशको निर्माण गर्न मोर्चाले माग गरेको छ ।

यस्तै, फोरम लोकतान्त्रिकसहितका पाँच दलले झापा, मोरङ, सुनसरी र सिरहा, सप्तरी र उदयपुरलाई समेटी आठौं प्रदेशको निर्माण गर्न भन्दै संशोधन प्रस्ताव पेश गरेका छन् ।

अन्य

भिडियो