पूर्वी नवलपरासीकी २२ वर्षीया, उदयपुरकका १९ र २१ वर्षीया, सुनसरीकी २३ वर्षीया, बागलुङकी २० वर्षीया र पर्साकी २१ वर्षीया युवतीलाई बेचबिखनको प्रयास गरेको आरोपमा प्रहरीले भारतीय प्रहरीको समन्वयमा भारत बिहारको पूर्वी चम्पारण जिल्लाको छौडादानो बस्ने २५ वर्षीय विकास भनिने विकेश कुमार र धनुषा जिल्ला नगराइन नगरपालिका घर भइ छौडादानोमा नै बस्दै आएकी २४ वर्षीया ममताकुमारी भनिने अजिमा खातुनलाई भदौ १२ गते गिरफ्तार गरेको छ ।
प्रहरीले बिहारको पूर्वी चम्पारण छौडादानो नगर पञ्चायत–११ आदापुर बजारबाट ती युवतीहरूको उद्धार गरिएको जनाएको छ ।
अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभन देखाई ती यवतीहरूलाई बेच्ने तयारी भइरहेको सूचनाको आधारमा प्रहरी टोली आदापुर पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट भदौ ९ गते खटिएको टोलीले भारतीय प्रहरीसँगको समन्वय र आफन्त नेपाल नामक गैरसरकारी संस्थासँगको सहकार्यमा ती युवतीहरूको उद्धार गरेको डिएसपी ओमप्रकाश खनालले जानकारी दिनु भयो ।
ती युवतीहरूलाई विभिन्न आर्केष्ट्रमा उनीहरूको इच्छा विपरीत पोशाक लगाएर नचाउने र शारीरिक शोषणको लागि अन्यत्र पठाउने तयारी भइरहेको सूचना प्रहरीले पाएपछि उद्धार गरिएको डिएसपी खनालले बताउनु भयो ।
आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्साले भदौ १२ गते उजुरी दर्ता गरी मानव बेचबिखन तथा ओसारपसारको मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।