१५ वर्षीया बालिका र बाशेश्वर गाविस-५ हैवारका १९ वर्षीय विजय तामाङबिच हुन लागेको बालविवाह रोकेको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।
०७३ फागुन १४ गते प्रहरीले खुर्कोटमा जन्ती र बेहुली लिई विवाहका लागि काभ्रेतर्फ गइरहेको बसलाई रोकेर चेकजाँच गर्दा बालविवाह हुन लागेको थाहा पाएपछि सो विवाह रोकेको प्रहरीले जनाएको छ ।
एक महिना अघि उनीहरूले भागी विवाह गरेको र आफ्नो जातीय परम्परा अनुसार केटी पक्षको घरमा विवाहका लागि जन्तीसहित जाँदै गर्दा खुर्कोट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर उत्तम प्रकाश बरालले बताए ।
कानुन अनुसार केटाकेटी दुवै जनाको उमेर नपुगेको देखिएकाले विवाह रोकिएको इन्स्पेक्टर बरालले बताए । उनीहरूलाई २० वर्षपुगेपछि मात्रै विवाह गर्न पाउने र तत्कालका लागि सँगै बस्न नपाउने गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
बेहुला बेहुली तथा उनीहरूका अविभावकलाई कानुनी परामर्शपछि विवाह रोकी अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
स्थानीय तथा जिल्ला बाल क्लब सञ्जालको सूचनाको आधारमा प्रहरीले बालविवाह रोकेको हो ।
यसैगरी बहुविवाह तथा बालविवाह गर्न लागेको आरोपमा रानीचुरीको एक विवाह पनि स्थानीय बाल क्लब सञ्जाल तथा स्थानीयबासीको सहयोगमा रोकिएको छ ।
रानीचुरी-१ का २० वर्षीय निरोज योञ्जनले घरमा पत्नी हुँदाहुँदै १७ वर्षीया बालिकासँग अर्को विवाह गर्न खोजेको भन्दै स्थानीयको पहलमा विवाह रोकिएको बाल क्लब सञ्जालका जिल्ला अध्यक्ष रामकाजी घलानले जानकारी दिए ।
पछिल्लो समय जिल्लामा बाल क्लबहरूको पहलमा बाल विवाहका घटना नियन्त्रणमा आउन थालेसँग यी दुई विवाह रोकिएका हुन् ।