INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी र छोरीलाई एसिड प्रहार गरेको कसुरमा १० वर्ष ६ महिना कैद

जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने २१ वर्षीया पत्नी आरती साह र चार वर्षीया छोरी रिया साहलाई एसिड प्रहार गरेको कसुरमा जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठा बस्ने २५ वर्षीय संजिव साहलाई जिल्ला अदालत धनुषाले भदौ १० गते १० वर्ष ६ महिना कैदको फैसला सुनाएको छ ।

पीडितलाई ६ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन र त्यतिनै जरिबानाको फैसला सुनाएको जिल्ला अदालत धनुषाका सूचना अधिकारी गङ्गाकुमार मिश्रले जानकारी दिनु भएको छ ।

आरोपित साहविरुद्ध माइतीमा बस्दै आएकी पत्नी र छोरीलाई ०७७ कात्तिक २९ गते एसिड प्रहार गरेको आरोप थियो । आरोपित साहलाई सोही दिन प्रहरीले गिरफ्तार गरेको थियो ।

न्यायाधीश कृष्णमुरारी शिवाकोटीको ०७८ साउन २५ गतेको एकल इजलासले आरतीका पति सञ्जीवलाई दोषी ठहर गरेको थियो । सोही घटनामा संलग्न रहेका एसिड बेच्ने व्यापारी नागेन्द्र साहलाई भने सफाइ दिइएको थियो ।

घटनापश्चात् सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा सञ्जीव र एसिड बेच्ने व्यापारी नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको सजाय माग गर्दै अभियोगपत्र दर्ता गराएको थियो ।

दुवै जनाविरुद्ध अङ्गभङ्ग, कुरुप र एकीकृत कसुर गरी तीन ओटा कसुरको सजायका लागि माग दावी गरिएको थियो । यस मुद्दामा यसअघि ६ ओटा पेशी भए पनि विभिन्न कारण देखाउँदै स्थगित गरिएको थियो ।

एसिड आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नुका साथै घाँटी, छातीलगायत शरीरको २५ प्रतिशत भाग जलेको छ । एसिड आक्रमणमा परी छोरी रियाको दाहिने हात र टाउकोमा खत बसेको छ ।

यसैबिच, भदौ १० गते प्रदेश २ सरकारको तर्फबाट पीडित आरती साहलाई ५ लाख रुपियाँ आर्थिक सहयोग गरिएको छ ।

मुख्यमन्त्री लालबावु राउत र सामाजिक विकास मन्त्रि नवलकिशोर साहको उपस्थितिमा एसिड पीडित साहलाई ५ लाख रुपियाँको चेक हस्तान्तरण गरिएको छ ।

अन्य

भिडियो