अर्थ सरोकार सुदूरपश्चिम ब्यूरो प्रमुख सुदर्शन श्रेष्ठ, फुलवारी खबरका सम्बाददाता झलक दवाडी र क्यामेरा पर्सन हरी तिवारीलाई मार्ने धम्की दिएको आरोपमा धनगढी उपमहानगरपालिका-१४ स्थित सिद्धार्थ सामुदायिक वनका अध्यक्ष कृष्ण गिरीविरुद्ध पीडित पक्षले भदौ १० गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएका छन् ।
वन कर्मचारी र पदाधिकारीको मिलोमतोमा सामुदायिक वनको काठ तस्करी भइरहेको सूचना स्थानीयहरुले दिएपछि पुनर्पुष्टि गर्न सो सामुदायिक वनको फुलवारी क्षेत्रमा गएको अवस्थामा भदौ ९ गते फोनमार्फत मार्ने धम्की दिएकोले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको अर्थसरोकारका सुदूरपश्चिम प्रदेश व्यूरो प्रमुख श्रेष्ठले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
नागरिकलाई सत्यतथ्य समाचार सम्प्रेषण गर्ने उद्देश्यले स्थलगत अध्ययनमा गएका पत्रकारलाई मार्ने धम्की दिने जो कोहीलाई पनि कार्वाही गरिनु पर्ने र पत्रकारहरुको सुरक्षाको सुनिश्चिता गरिनु पर्ने नेपाल पत्रकार महासङ्घ, कैलालीका जिल्ला अध्यक्ष हिमाल जोशीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा ठाडो उजुरी मात्रै दिएको र रितपूर्वक उजुरी नआएकाले आरोपितलाई गिरफ्तार नगरी दुवै पक्षलाई छलफलका लागि बोलाउने जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी प्रतिक विष्टले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पत्रकालाई मार्ने धम्की दिने व्यक्तिलाई तल्काल गिरफ्तार गरी कार्वाही प्रक्रिया अगाडि बढाउनु पर्ने माग राखी नेपाल पत्रकार महासङ्घ, सुदूरपश्चिम प्रदेश, नेपाल पत्रकार महासङ्घ, नेपाल फोटो पत्रकार महासङ्घ, कैलाली र प्रेस चौतारी नेपालले भदौ १० गते प्रेस विज्ञप्ति जारी गरेका छन् ।

