INSEC Online

📅 २०८३ जेष्ठ २१

अपाङ्गता भएका बालबालिका नियमित फिजियोथेरापी सेवा लिनबाट वञ्चित

अपाङ्गता भएका बालबालिकाहरू नियमित फिजियोथेरापी सेवा लिनबाट वञ्चित भएका छन् ।

माथागढी गाउँपालिका–२ रुप्सेका ११ वर्षीय पुरन दर्लामी उभिन र हिडडुल गर्न सक्नुहुन्न । तीन वर्षको उमेरमा निमोनिया भएपछि ढाडको पानी निकाल्दा उहाँको ढाडमा समस्या भयो । पछि हिडडुल गर्न त परै जाओस्, उभिन सक्ने अवस्थासमेत रहेन ।

उहाँले विगत चार वर्षदेखि तानसेनस्थित केयर सेन्टरमा नियमित रुपमा फिजियोथेरापी गराउँदै आउनु भएको थियो तर कोभिडका कारण केयर सेन्टर बन्द भएपछि उहाँको दैनिकी पिँढीमै सुतेर बित्ने गरेको छ । पुरनकी आमा शारदा दर्लामीले फिजियोथेरापी गराउने समयमा चियरमा उभिन सक्नेसम्मको सुधार भएपनि अहिले थेरापी सेवा बन्द भएपछि छोराको शारीरिक अवस्था झनै बिग्रिदै गएको बताउनु भयो ।

कोभिड महामारीका कारण केयर सेन्टर बन्द भएपछि पुरन मात्र नभई उहाँजस्तै धेरै बालबालिका समस्यामा पर्नु भएको छ । पाल्पा सिविआर र मष्तिस्क पक्षघात स्वाबलम्वन समूहले संयुक्त रूपमा तानसेनमा अपाङ्गता भएका बालबालिकाहरुलाई लक्षित गरि तानसेनमा केयर सेन्टर सञ्चालन गर्दै आएको छ तर कोभिड महामारीको दोस्रो चरण भएदेखि नै सेन्टर बन्द छ ।

पहिलो चरणको महामारीको समयमा २०७६ चैतदेखि मङ्सिरसम्म केयर सेन्टर पुर्ण रुपमा बन्द भयो । मङसिरदेखि वैशाखसम्म नियमित फिजियोथेरापी गरिएपनि दोस्रो चरणको महामारीका कारण ०७८ वैशाखदेखि अहिलेसम्म नियमित र फलोअपको फिजियोथेरापी हुन नसकेको सिविआर कार्यक्रम संयोजक कृष्ण गहतराजले बताउनु भयो ।

 सेन्टरमा नियमित रुपमा १३ जना र फलोअपको रुपमा ६५ जना अपाङ्गता भएका बालबालिकाहरूले निःशुल्क रुपमा सेवा लिदै आएका थिए । नियमित उपचार र थेरापी गराउन सक्ने हो भने धेरै बालबालिकाहरूको दैनिकी सहज हुन सक्ने अवस्था रहेको गहतराजले बताउनु भयो । सरकारले निषेध आदेश जारी गरेपछि विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएसँगै थेरापी सेवा पनि बन्द भएको उहाँले बताउनु भयो । अनलाइनबाट अभ्यास गराउन खोजिएपनि प्रभावकारी हुन नसकेको उहाँले बताउनु भयो ।

अति अपाङ्गता भएका बालबालिकाहरूका लागि लक्षित गरी विभिन्न अक्षय कोष दाताहरूको सहयोगमा सिविआरले चार वर्षदेखि स्याहार केन्द्रको रूपमा विद्यालय पनि सञ्चालन गरेको छ ।  आर्थिक अभावमा धेरै बालबालिकाहरूलाई समेट्न नसकिएको र कोभिडका कारण नियमित थेरापीमा आउने बालबालिकाहरू पनि अप्ठेरोमा परेको उहाँले बताउनु भयो ।

पाल्पाका दुई वटा नगरपालिका र आठ वटा गाउँपालिका भित्र ३ सय जनाभन्दा बढी अपाङ्गता भएका बालबालिकाहरू  नियमित फिजियोथेरापीसहित  शिक्षा, स्वास्थ्य लगायतका अधिकारबाट वञ्चित भएको गहतराजले बताउनु भयो ।

‘जन्मजात वा जन्मेपछि विभिन्न कारणले अपाङ्गता भएका बालबालिकाहरू उचित स्वास्थ्योपचार र शिक्षाको अभावमा आँगन र पिँढीमै सीमित भएका छन् ।’–उहाँले भन्नुभयो ।

नेपालको संविधान २०७२ मा मौलिक हक अन्तर्गत धारा ३१ मा शिक्षाको हक, धारा ३५ मा स्वास्थ्यको हक, र धारा ३९ मा बालबालिकाको हक रहेपनि अपाङ्गता भएका बालबालिकाहरूले कुनै पनि हकको उपभोग गर्न पाउनु भएको छैन ।

धारा ३१ को शिक्षाको हक अन्तर्गत अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुन बमोजिम निशुल्क उच्च शिक्षा पाउने हक सुनिश्चित गरिएको छ । त्यस्तै दृष्टिविहीन नागरिकलाई ब्रेललिपी तथा बहिरा र स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका नागरिकलाई साङ्केतिक भाषाको माध्यमबाट कानुन बमोजिम निःशुल्क शिक्षा पाउने हकको सुनिश्चत गरिएको छ ।

पाल्पामा सरकारी स्तरबाट दृष्टिविहीन बालबालिकाहरूका लागि दमकडा माध्यमिक विद्यालयमा अध्ययनको व्यवस्था गरिएको छ । त्यस्तै कान नसुन्ने बालबालिकाहरूका लागि पप मावि र भवानी माध्यमिक विद्यालयमा अध्ययनको व्यवस्था गरिएको छ ।  अति  (विद्यालय बोकेरै ल्याउनुपर्ने ) अपाङ्गता भएका बालबालिकाहरूका लागि भने सरकारीरूपमा कुनै पनि विद्यालय छैन ।

सिविआरले सञ्चालन गरेको केयर सेन्टरमा आउने सबै बालबालिका अभिभावकले बोकेरै ल्याउनुपर्ने अवस्थाका रहेका छन् ।

अन्य

भिडियो