दोधाराचाँदनी नगरपालिका–४ दोधाराका दुई वर्षीय बालक जिवन ठगुन्नाको उपचारमा स्वास्थ्यकर्मीले लापर्बाही गरेका कारण मृत्यु भएको आरोपपछि जिल्ला प्रशान कार्यालय, कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णनन्द भट्टको नेतुत्वमा भदौ ३ गते तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
सामान्य ज्वारो आएपछि बालकलाई उपचारका लागि महेन्द्रनगरस्थित लाइफकियर प्याथोलोजीमा चेकजाँचका लागि लगिएको थियो । बालकलाई सामान्य किसिमको निमोनिय भएकोले दुई दिनसम्म अस्पतालमा भर्ना गर्नु पर्ने सुझाव लाइफकियर प्याथोलोजीका डाक्टर रमेश जोशीले दिएपछि साउन २४ गते थप उपचारका लागि माहाकाली अस्पतालमा भर्ना गरिएको बालकका बुवा जयबहादुर ठगुन्नाले बताउनु भयो ।
माहाकाली अस्पतालमा भर्ना गर्दा सामान्य स्वास्थ्य अवस्था रहेका बालकलाई पहिलो दिन एक इन्जेक्सन लगाएको र दोस्रो दिन एकै पटक दुई इन्जेक्सन लगाए लगत्तै बालक बेहोस भएदेखि होसमा नआएको बालकका बुवा ठगुन्नाको आरोप छ ।
उहाँले भन्नु भयो– ‘सानो बच्चा छ । एकैपटक दुईदुई इन्जेक्सन नलगाउनु भनेर भनेँ । तर, नर्सले सुन्नु भएन् । एकै पटक दुई ओटा इन्जेक्सन दिनु भयो । इन्जेक्सन दिए लगत्तै छोरो छट्पटाउँदै बेहोस भयो । स्वास्थ्यकर्मीको लापर्बाहीले छोराको मृत्यु भएको हो।’
बालक बेहोस भएपछि रिफर लेटरसम्म नदिएर हतारहतार एम्बुलेन्समा राखेर दुई जना स्वास्थ्यकर्मीसहित साउन २५ गते धनगढीस्थित निसर्ग अस्पतालमा पठाएको बालकका बुवा ठगुन्नाले बताउनु भयो ।
बेहोस अवस्थामा धनगढीस्थित निसर्ग अस्पतालमा ल्याइएका बालकको भेन्टीलेटरमा राखेर साउन ३२ गतेसम्म उपचार गर्दा पनि कुनै सुधार नभएपछि पुनः माहाकाली अस्पतालमा लगिएको थियो ।
निसर्ग अस्पतालबाट बालकलाई पुनःमहाकाली अस्पतालमा ल्याइएको भएपनि माहाकाली अस्पतालमा ल्याउनु भन्दा अगाडी नै बालकको मृत्यु भइसकेको माहाकाली अस्पतालका डाक्टर हरीकुमार श्रेष्ठले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘बालकलाई निमोनिय भएको थियो । औषधिहरु चलाइयो । औषधिको साइट इफेक्ट भएपछि थप उपचारका लागि स्वास्थ्यकर्मी सहित निसर्ग अस्पतालमा पठाएका हौँ । स्वास्थ्यकर्मीले कुनै लापर्बाही गरेका छैनन् ।’
घटनाको छानबिन गर्न समिति गठन समेत भएकोले छानबिन समितिले स्वास्थ्यकर्मीको लापर्बाहीका कारण बालकको मृत्यु भएको पृष्टि सहितको प्रतिवेदन दिएको खण्डमा स्वास्थ्यकर्मीलाई कारर्वाही गरिने डाक्टर श्रेष्ठको भनाइ छ ।
स्वास्थ्यकर्मीकै लापर्बाहीका कारण बालकको मृत्यु भएकोले उपचारका क्रममा सङ्लग्न स्वास्थ्यकर्मीलाई कार्वाहीको मागराखि तीन दिनदेखि माहाकाली अस्पतालमा रहेको बालकको शव पीडित परिवारले बुझेका छैनन् ।
छानबिन समितिको प्रतिवेदन आएपछि मात्रै बालकको शव बुझ्ने पीडित पक्षले बताउँदै आएका छन् ।
जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णानन्द भट्टको संयोजकत्वमा गठिन छानबिन समितिमा स्वास्थ्य कार्यालयका कपिलदेव जोशी र माहाकाली अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्णानन्द भट्ट (किरण) सदस्य रहेका छन ।
घटनाको छानबिन सुरु गरिएको र छिट्टै प्रतिवेदन तयार गरी जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरमा बुझाउने छानविन समितिका संयोजक कृष्णानन्द भट्टले बताउनु भयो ।