कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु सञ्चालनका लागि प्रभावकारी वैकल्पिक व्यवस्था नहुँदा विद्यार्थीहरु समस्यामा परेका छन् ।
नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३१ मा शिक्षाको अधिकारको सुनिश्चित गरिएको भएपनि कोभिडका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु सञ्चालनमा नआउँदा विद्यार्थीहरुको पठनपाठन ठप्प हुन गई बालबालिकाहरु शिक्षा पाउने अधिकारबाट वञ्चित भएका छन् । ।
विद्यालय बन्द हुदा धेरैजसो बालबालिकाहरु कुलतमा फसेर गलत क्रियाकलापमा सक्रिय हुँदै आएका अभिभावकहरुले गुनासो गरेका छन् ।
विद्यालय बन्द भएदेखि पाठ्यपुस्तक हेर्न छाडेको, लागुपदार्थ सेवन गर्ने, जुवातास लगायतका गलत क्रियाकलापमा बालबालिकाहरु सक्रिय हुने गरेको सरस्वती माध्यमिक विद्यालय रानागाउँका अभिभावक बसन्त कैनीले दुखेसो पोख्नु भयो ।
वैकल्पिक विधिबाट पठनपाठन सुचारु गर्नु पर्नेमा कोभिडकै कारण देखाएर कोभिड प्रभावित नभएका क्षेत्रमा पनि विद्यालय बन्द गरिनुले बालबालिकाको भविष्यमाथि खेलवाड भएको रानागाउँका स्थानीय अभिभावक मीनबहादुर कुँवरले बताउनु भयो ।
कोभिडका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा बालबालिकाको भविष्य अन्योल बन्दै गएकोले वैकल्पिक विधिबाट भएपनि विद्यालयहरु सञ्चालन गर्न आवश्यक रहेको देवस्थल माध्यमिक विद्यालयका प्रधानध्यापक रघुनाथ पाठकले बताउनु भयो ।
सरकारले वैकल्पिक माध्यमबाट विद्यालय सञ्चालन गर्न निर्देशन दिएको खण्डमा अनलाइन कक्षा सञ्चानल गर्न सकिने सरस्वती माध्यमिक विद्यालय, रानागाउँका प्रधानध्यापक मीनबहादुर राणाले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘भौतिक दुरी कायम गरेर र सुरक्षाका मापदण्डको पूर्ण पालना गरी पठनपाठन सञ्चालन गर्न सकिने अवस्था छ ।’
कोभिडबाट प्रभावित नभएको ठाउँमा विद्यालय बन्द गर्न आवश्यक नभएकोले तत्काल शिक्षा समितिको बैठक आयोजना गरी सरकारले जारी गरेको सुरक्षा मापदण्ड पालना गरेर गाउँपालिका क्षेत्रका विद्यालयहरु सञ्चालन गर्ने तयारी गरिएको बोगटान फुडसिल गाउँपालिका शिक्षा शाखा प्रमुख खेमबहादुर साउदले बताउनु भयो ।
कोभिडका कारण शैक्षिक क्षेत्र प्रभावित भएकोले वैकल्पिक विधिबाट भएपनि विद्यालय सञ्चालन गर्ने विषयमा छलफल भइरहेको के. आई. सिंह गाउँपालिकाका प्रमुख लोकेन्द्रबहादुर शाहीले बताउनु भयो ।