INSEC Online

📅 २०८३ जेष्ठ २१

अक्सिजन प्लाण्ट निर्माणमा ढिलाइ, कोभिड सङ्क्रमितको उपचारका लागि जिल्ला बाहिरबाट अक्सिजन ल्याउनु पर्ने बाध्यता

अक्सिजन प्लाण्ट निर्माण कार्यमा ढिलाइ भएका कारण कोभिड सङ्क्रमितको उपचारका लागि जिल्ला बाहिरबाट अक्सिजन ल्याउनु पर्ने बाध्यता रहेको छ ।

अर्थ मन्त्रालयबाट अक्सिजन प्लाण्ट सञ्चालन गर्न पाल्पा अस्पतालले बजेट सहमति पाएपछि असार महिनामै आवश्यक उपकरण खरिद गरिसकेको भएपनि अक्सिजन उत्पादन गर्ने मेसिन राख्ने भवन बनाउन रकम अभाव हुँदा अक्सिजन प्लाण्ट सञ्चालन गर्न ढिलाइ  भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर जगदिश कुँवरले बताउनु भयो ।

मेसिन राख्ने भवन तथा अन्य  पूर्वाधार निर्माणमा ढिलाई हुँदा अक्सिजन प्लाण्ट सञ्चालनमा आउन नसकेको कुँवरले बताउनु भयो ।

photo20281801palpa

सरकारले जेठ ४ गते अक्सिजन प्लाण्ट सञ्चालनका लागि १ करोड ५० लाख रुपियाँ बजेट स्वीकृत गरेको थियो । अक्सिजन उत्पादन गर्ने आवश्यक उपकरण आएको एक महिना भइक्दासमेत उपकरण राख्ने भवन  बनाउन ढिलाइ हुँदा समस्या भएको उहाँले बताउनु भयो ।

कोभिड सङ्क्रमणको दोस्रो लहरका बेला जिल्लामा अक्सिजन अभाव भएपछि सरकारले पाल्पा अस्पताल मातहत अक्सिजन प्लाण्ट सञ्चालन गर्ने निर्णयसहित बजेट विनियोजन गरेको थियो ।

अक्सिजन प्लाण्ट स्थापना भए दैनिक ५० देखि १ सय  सिलिण्डर अक्सिजन उत्पादन हुने पाल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र पाण्डेले बताउनु भयो ।

अक्सिजन प्लाण्टका लागि अस्पतालकै छेउमा २६ लाख रुपियाँ लागतमा भवन बन्दै गरेको छ । भवन  निर्माण गर्न हालसम्म कुनै निकायबाट रकम नआएको अध्यक्ष नेत्र पाण्डेयले बताउनु भयो । अस्पताल विकास समितिको बजेटबाट केही रकम भुक्तानी गरिएपनि निर्माण सामाग्री खरिद र ज्यालाको रकम भुक्तानीमा समस्या भएको उहाँले बताउनु भयो ।

भवन निर्माणका लागि रकम नआएपनि हाललाई रकम आउने आशमा ५० प्रतिशत बढी काम गरि सकेको उपभोक्ता समितिका अध्यक्ष नवराज बस्यालले बताउनु भयो ।

पाल्पामा चार वटा ठुला अस्पताल मध्ये लुम्बिनी मेडिकल कलेज बाहेक अन्य अस्पतालमा अक्सिजन प्लाण्ट छैन । उक्त प्लाण्टबाट दैनिक १५ देखि २० सिलिण्डर मात्रै अक्सिजन उत्पादन गर्ने गरेको र कहिले काँही उक्त अस्ताललाई नै अपुग भएर बाहिरबाट ल्याउनु परेको अस्पतालका निर्देशक निदोश खनालले बताउनु भयो ।

जिल्लामा प्रयाप्त मात्रामा उत्पादन गर्ने अक्सिजन प्लाण्ट नहुँदा अक्सिजन सिलिण्डिर रिफिल गर्न रुपन्देही, पोखरा पठाउनुपर्ने बाध्यता रहेको छ । खाली सिलिण्डर भर्न पठाउँदा ढिलो गरी आउने भएकाले बिरामीको उपचारमा समस्या पर्ने गरेको स्वास्थ्य कार्यालयका अधिकृत ओमप्रकाश पन्थीले बताउनु भयो ।

अन्य

भिडियो