INSEC Online

📅 २०८३ जेष्ठ २१

अनिश्चितकालिन तालाबन्दीका कारण सेवाग्राही समस्यामा

भीमदत्त नगरपालिकाको शिक्षा शाखामा साउन ३ गतेदेखि तालाबन्दी गरिएका कारण सेवाग्राहीहरु समस्यामा परेका छन् ।

शिक्षा शाखा समितिको असार ३१ गते बसेको बैठकले शिक्षक दरबन्दी मिलान गर्ने निर्णय गरेपछि नेपाल शिक्षक सङ्घमा आवद्ध शिक्षकहरुले शिक्षा शाखामा अनिश्चिकालिन तालाबन्दी गरेपछि सेवाग्राहीलाई समस्या उत्पन्न भएको हो ।

नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरिएपछि विद्यालयको कार्यसम्पादन मूल्याङ्कन, विद्यालयका कागजपत्र र कक्षा ८ को मार्कसिट ल्याउन नसकिएको भिमदत्त नगरपालिका–१८ का शिक्षक उत्तम विष्टले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘कक्षा ८ को मार्कसिट ल्याउन नपाउँदा नतिजा प्रकाशनमा ढिलाई भएको छ । परीक्षाफल प्रकाशन गर्न नसक्दा अभिभावक र विद्यार्थीहरुलाई मानसिक तनाव उत्पन्न भएको छ ।’

नगरपालिकाको शिक्षा शाखामा अनिश्चितकालिन तालबन्दीका कारण शिक्षकहरुले तलब नपाएको, शिक्षासँग सम्बन्धित तथ्याङ्क अद्यावधिक गर्न नसकिएको र शिक्षकहरुको कार्यसम्पादनमा प्रभाव परेको स्थानीय अभिभावक भोजराज भट्टले बाताउनु भयो ।

उहाँले भन्नु भयो– ‘सेवाग्राहीहरु दैनिक कार्यालयमा आउने गरिरहेका छन् । तर, शिक्षा शाखामा लगाइएको तालबन्दी खुलाउन कसैले पहल गरेको देखिदैन् ।’

शिक्षक दरबन्दी कार्यविधि २०७६ विपरित मनपरि ढङ्गले दरबन्दी मिलान गर्ने कार्य भएकोले शिक्षकहरु आन्दोलित भएर नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेको भीमदत्त नगरका शिक्षक सङ्घका अध्यक्ष मदनबहादुर विष्टले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘शिक्षकहरुले निश्पक्ष रुपमा शिक्षक दरबन्दी मिलानको माग गरेका छन् । माग सम्बोधन नभएसम्म शिक्षकहरुले जारी गरेको धर्ना र अनिश्चितकालिन रिले अनसन जारी रहन्छ ।’

उच्चस्तरीय शिक्षा सुधार कार्यदलले दिएको सुझाव, प्रतिवेदन, दरबन्दी मिलान निर्देशिका र कार्यविधि विपरित शिक्षक दरबन्दी मिलान गरिएकोले त्यसको विरोध गर्दै शिक्षकहरु आन्दोलित भई अनिश्चितकालिन तालाबन्दी गरिएको नेपाल शिक्षक सङ्घ, कञ्चनपुरका सचिव नवीनसिंह धामीले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरिएको झण्डै एक महिना भयो । शिक्षकहरुका माग सम्बोधन गर्न कसैले चाँसो दिएका छैनन् । माग सम्बोधन नभएसम्म तालाबन्दी यथावत नै रहन्छ ।’

शिक्षा शाखामा तालाबन्दी गरिएपछि कार्यालयबाट प्रवाह गरिने दैनिक सेवा, कार्यसम्पादन मूल्याङ्कन, शिक्षकहरुको तलब लगायत अन्य प्रशासनिक कार्यमा पनि प्रभाव परेको शिक्षा शाखाका प्रमुख हरिदत्त जोशीले बताउनु भयो ।

शिक्षक दरबन्दी मिलान गर्दा केही शिक्षकहरु पायक पर्ने ठाउँमा नपरेको भन्दै आन्दोलन गरिएको जोशीले बताउनु भयो ।

भिमदत्त नगरपालिकाका प्रवक्ता हिमाल चन्दले शिक्षा शाखामा लगाइएको ताल खोल्ने विषयमा सम्वाद भइरहेको भएपनि निश्कर्षमा पुग्न नसकिएको बताउनु भयो ।

अन्य

भिडियो