INSEC Online

📅 २०८३ जेष्ठ २१

दुई सातादेखि गाउँपालिकामा तालाबन्दी, सेवाग्राही समस्यामा

लेकम गाउँपालिकाको अस्थायी कार्यालय खरकडामा दुई सातादेखि तालाबन्दी गरिएको कारण स्थानीय सेवाग्राही समस्यामा परेका छन् ।

गाउँपालिकाको केन्द्र रातामाटाबाट कार्यालय सञ्चालन गर्न पटकपटक माग गर्दा समेत अस्थायी कार्यालय खरकडाबाट नै सेवा प्रवाह गरिको भन्दै लेकम गाउँपालिका वडा नम्बर १, २ र ५ का स्थानीयहरुले साउन १५ गतेदेखि नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेपछि स्थानीय सेवाग्राहीहरु समस्यामा परेका हुन् ।

दुई सातादेखि गाउँपालिकामा तालाबन्दी गरिएको भएपनि कुनै पक्षबाट ताला खुलाउने प्रयास नभएपछि स्थानीयहरुलाई सेवा लिन समस्या भएको स्थानीय रमेश जोशीले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– सिफारिस लिन चार पटक गाउँपालिकाको कार्यालयमा पुगे । तर, तालाबन्दीका कारण चारै पटक बिनासिफारिस फिर्ता भए । गाउँपालिकाले समेत तालाबन्दी खुलाउने विषयमा पहल गरेको छैन् । सेवाग्राहीको समस्यालाई कसैले बुझेका छैनन् ।

नयाँ आर्थिक वर्षमा गर्नु पर्ने कामको लागि सूची दर्ता गराउन नगरपालिकाको कार्यालयमा पटक–पटक जाँदा काम हुन नसकेको स्थानीय मदनसिंह धामीले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘नगरपालिकाको कार्यालय बन्द भएको आधा महिना भइसक्यो । तर, कार्यालय खुलाउनेतर्फ कसैले चासो दिएको देखिदैन् । कर्मचारी असार मसान्त सकेर घर गएका छन् । जनप्रतिनिधि पनि कार्यालयमा देखिदैनन् ।’

गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि लेकम गाउँपालिकाकै गाउँकार्यपालिका, गाउँसभा, गाउँपालिकाको सिफारिस र नेपाल सरकारको निर्णय अनुसार गाउँपालिकाको केन्द्र रातामाटा राख्ने निर्णय तीन वर्ष अगाडी नै भएको भएपनि केन्द्र सार्ने विषयमा कुनै पहल नभएपछि गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको स्थानीय दिपक बिष्टले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘रातामाटमा गाउँपालिका कार्यालय निर्माण गर्न स्थानीय पाठक परिवारले जग्गा दान गरेका छन् । भवन निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको छ । माटो परीक्षण गरिएको छ । प्रशासकीय भवन निर्माणका लागि टेण्डर र सम्झौता समेत भइसकेको छ । स्थानीयले रातामाटामा कार्यालय सञ्चालन गर्न माग गर्दै आएका छन् । तर, गाउँपालिकाले नै कुनै सुनवाइ गरेको छैन् ।  रातामाटामा कार्यालय सञ्चालन नभएसम्म तालाबन्दी यथावत रहन्छ ।’

विगतदेखि नै गाउँपालिका र जनप्रतिनिधिहरुकै पहल, सहमती तथा निर्णयनुसार रातामाटामा केन्द्र स्थापनादेखि भवन निर्माणका लागि सम्झौता समेत भएकोले गाउँपालिकाले गर्ने कार्यहरु रातामाटाबाटै सञ्चालन गरिने गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘गाउँपालिकामा तालाबन्दी गरिएकोले सेवाग्राहीहरुलाई सेवा लिन समस्या भएको छ । तालाबन्दी गर्ने पक्षसँग छलफल भइरहेको छ । छिट्टै सहमति गरेर समस्या समाधान हुन्छ ।’

अन्य

भिडियो