INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुहबी नगरपालिका–१ का ३० वर्षीय कलिम मियाँलाई साउन ३० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७४ मङ्सिर २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा ०७४ पुस २ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

जिल्ला अदालतका न्यायाधीश धर्मराज पौडेलको ०७५ साउन ३० गतेको इजलासले कसुर गरेको ठहर गर्दै ११ वर्ष कैद सजायको फैसला गरेको थियो ।

बलात्कार घटनामा अदालतबाट दोषी ठहर भएका मियाँलाई साउन ३० गते अदालतमा उपस्थित गराएर झुम्का कारागार पठाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७४ मङ्सिर ३ गते गरिएको थियो ।

त्यसैगरी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हरिनगर गाउँपालिका–६ का २५ वर्षीय सम्शेर अञ्सारीलाई साउन २९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन २८ गते गरिएको छ ।

अन्य

भिडियो