INSEC Online

📅 २०८३ जेष्ठ २१

अभिभावक विहीन बालबालिका पढ्नबाट वञ्चित हुने अवस्थामा

नीलकण्ठ नगरपालिका–४ सिम्लेगैरीका चार बालबालिका आमा बाबुको मृत्यु भएपछि पढ्नबाट वञ्चित हुनुपर्ने अवस्थामा छन् ।

photo20210804dhadingउनीहरूका बुवा ऋण तिर्न नसकेर पाँच वर्ष पहिले नै आत्महत्या गरेका थिए । जण्डिसको उपचार गर्न नसकेर ०७८ असार ७ गते आमाको मृत्यु भयो । आमाको उपचारको लागि धादिङबेसीका साहुहरूबाट लिइएको ५६ हजार ऋण अझै तिर्न बाँकी छ ।

चार जनामध्ये एक जना भाइले पढाइ छाडे पनि जेठो १६ वर्षीय गोविन्द १० कक्षामा पढ्छन् । ६ वर्षीया सरिता १ कक्षा र ७ वर्षीया सरस्वती २ कक्षामा पढ्छन् । पढ्न चाहना भए पनि खर्च र संरक्षणको अभावमा पढ्न समस्या आएको गोविन्दले बताउनुभयो । आफूले जेनतेन पढे पनि साना बहिनीहरूलाई आफूले कमाएर पढाउन नसक्ने उहाँले बताउनु भयो ।

बिहान बेलुका मजदुरी गरेर खानका लागि एक पाथी चामलको जोहो गरे पनि सँधै भनेको समयमा ज्याला मजदुरी गर्न पनि नपाइने गोविन्दले बताउनु भयो ।

आर्थिक अभावले घेरिएको अवस्थामा रहेका चार जना बालबालिका स्मार्ट सिटि र नगरपालिकाहरूमध्ये पहिलो भनेर चर्चा गर्ने गरिएको नीलकण्ठ नगरपालिका कार्यालयबाट १० मिनेटको दुरीमा बस्छन् । नगरपालिकाले गरिबहरूका लागि किरिया खर्च गाउँटोलमा पुगेर बाँडेको थाहा पाए पनि आफूहरूकोमा नगरपालिका नआएको गोविन्दले जानकारी दिनुभयो ।

गोविन्दका १२ वर्षीय भाइ हरि पढाइ छाडेर बजारमा ज्याला मजदुरी गर्छन् । हार्डवयर पसलहरूमा भारी बोकेर जेनतेन पालिएको भए पनि भाइले कमाउन नसकेको दिन भोकै बस्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

खाद्यन्नको अभाव, सुत्ने ठाउँमा एउटा म्याट ओछ्याइएको र एकसरो लुगामात्र रहेको अवस्थामा रहेका यि बालबालिकाको लागि अत्यावस्यक सामाग्रीहरू सहयोग गर्दै आउनु भएका छिमेकी नवराज मजाकोटीले उनिहरूको शिक्षा र गाँसबासका लागि दाता आवस्यक रहेको बताउनुभयो ।

अन्य

भिडियो