बराहक्षेत्र नगरपालिका–३ की ४३ वर्षीया श्यामकुमारी धामीलाई साउन १२ गते एसिड प्रहार घटनाका आरोपित सोही ठाउँका ३० वर्षीय रोमन राजधामी(बस्नेत) लाई प्रहरीले साउन १८ गते काठमाण्डौँबाट गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले साउन १२ गते पति–पत्नीबिचको विवादमा अघि सरेको भन्दै एसिड प्रहार गरेका थिए । मादक पदार्थ सेवन गरेका आरोपितले साउन १२ गते २८ वर्षीया पत्नी सरस्वती बस्नेतलाई कुटपिट गर्न थालेपछि सरस्वती शरण माग्दै छिमेकी श्यामकुमारी धामीको घरमा पुगेकी थिइन् ।
सोही बेला श्यामकुमारीले रोमनलाई सम्झाइबुझाइ गर्ने क्रममा रोमनले श्यामकुमारीको अनुसार तथा टाउकोमा एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट अनुसार र टाउको जलेकी पीडितको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार हुन नसकेपछि यतिबेला म्याक्स अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
श्यामकुमारीलाई आरोपित रोमनले एसिड प्रहार गर्दा लागेको छिटाले २१ वर्षीय सुमन र १९ वर्षीय सुजन राजधामी समेत घाइते भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर पाण्डव राजवंशीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । पीडित पक्षले आरोपितविरूद्ध साउन १३ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितलाई प्रहरीले काठमाण्डौँ गौशाला क्षेत्रबाट गिरफ्तार गरेको इन्स्पेक्टर राजवंशीले बताउनु भयो ।
आरोपितविरूद्ध प्रहरीले एसिड आक्रमण(कुटपिट वा अङ्गभङ्ग सम्वन्धी कसुर) मुद्दामा सुनसरी जिल्ला अदालतबाट गिरफ्तार भएकै दिनबाट लागू हुने गरी सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।