INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकद्वारा कोभिड खोप केन्द्रको अनुगमन- खोपकेन्द्र कतै सुनसान, कतै अत्यधिक भीड

जिल्लाका १२ ओटै स्थानीय तहमा साउन ११ गतेदेखि साउन १६ गते सम्मका लागि कोभिड–१९ विरूद्धको खोप अभियान सञ्चालन भइरहेको छ । इन्सेकले गरेको खोप अनुगमनका क्रममा खोपकेन्द्र कतै सुनसान त कतै भीँडभाड बढी भएकाले कोभिड–१९ को सङ्क्रमण बढेर जाने जोखिम देखिएको छ ।

जिल्लामा साउन ११ गतेबाट कोभिड–१९ विरूद्धको खोप अभियान सञ्चालन भइरहेको छ । साउन ११, १२ र १३ गतेको अवधिमा ४० हजार बढी व्यक्तिलाई कोभिड–१९ विरूद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । इन्सेक सुनसरीद्वारा गरिएको अनुगमनका क्रमममा धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिकामा कोभिड–१९ विरूद्धको खोप लगाउनेहरूको सङ्ख्या अत्यधिक देखिएको छ । खोप लगाउनेहरूको भिडका कारण कोभिड–१९ को सङ्क्रमण बढेर जाने जोखिम देखिएको  धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताउनु भएको छ ।

कोशी गाउँपालिकाको वडा– २ को खोप केन्द्रमा साउन १३ गते १ सय ६० जनाले मात्र कोभिड–१९ विरूद्धको खोप लगाएका छन् । भोक्राहा नरसिंह गाउँपालिकाको आधारभूत स्वास्थ्य केन्द्रमा वडा–३ र ८ का स्थानीयले खोप लगाएका छन् । स्वास्थ्य चौकी भोक्राहा र नरसिंह स्वास्थ्य चौकीको तथ्याङ्क अनुसार खोप अभियानका क्रममा ५५ वर्ष भन्दा माथिको उमेर समूहका ३ सय २६ जना, शिक्षक, कर्मचारीहरू मध्ये १ सय ९६ जना, सार्वजनिक यातायातका चालक १ सय २२ जना, वैदेशिक रोजगारमा जानेहरू ३४ जना गरी ४ सय २० जना पुरूष र २ सय ५८ जना महिला गरी ६ सय ७८ जनाले खोप लगाएको भोक्राहा नरसिंह गाउँपालिकाका स्वास्थ्य प्रमुख आलम अन्सारीले बताउनु भएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार धरानमा कोभिड–१९ विरूद्धको खोप लगाउनेको सङ्ख्या अत्यधिक भएकाले खोप लगाउने समय दुई दिनका लागि थप गर्ने निर्णय गरिएको छ । थप गरिएको समयमा ५५ वर्ष उमेर समूह माथिका नागरिक, प्राध्यापक, शिक्षक, कर्मचारी, निजी सवारी चालक, सहचालकहरूलाई भेरोसिल खोप लगाउने तयारी गरिएको छ । दुई दिन भेरोसिल खोप लगाएपछि ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई एक मात्रा लगाउँदा हुने अमेरिकन खोप जोनसन एण्ड जोनसन खोप लगाइने गरी तयारी गरिएको प्रमुख मेहेताको भनाइ छ । खोप केन्द्रमा अत्यधिक भीड हुने भएकाले धरान उपमहानगरपालिकामा सात ओटा खोप केन्द्र सञ्चालन गरिएको छ । सात ओटा खोप केन्द्रबाट १८ हजार बढीलाई कोभिड–१९ विरूद्धको खोप लगाइने भएको छ ।

धरान उपमहानगरपाकिामा साउन ११ गते देखि सुरू भएको कोभिड–१९ विरूद्धको खोप अभियानमा साउन १२ गते ५ हजार २ सय ९२ जनाले कोभिड–१९ विरूद्धको भेरोसिल  खोप लगाएका छन् । धरान उपमहानगरपालिकाको सात ओटा खोप केन्द्रहरू छाताचोकमा ८ सय २६ जना, पाँचकन्यामा ५ सय २४ जना, सभागृहमा एक हजार २ सय जना, विष्णुपादुकामा ८८ जना, धरान–१३ मा १ हजार जना, धरान–१५ मा ६ सय ५४ जना र धरान–१८ मा १ हजार गरी २ हजार ८ सय ३१ जना पुरूष र २ हजार ४ सय ६१ जना महिला गरी ५ हजार २ सय ९२ जनाले एकै दिन खोप लगाएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताउनु भएको छ ।

जिल्लाका १२ ओटै स्थानीय तहमा खोप अभियान सञ्चालन गरिए पनि कोशी गाउँपालिका, बर्जु गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिकालगायतका खोप केन्द्रमा स्थानीयको न्यून उपस्थिती देखिएको छ । धरान उपमहानगरपालिकाका खोप केन्द्रमा अत्यधिक भीड भएकाले स्वास्थ्य मापदण्ड र भीड व्यवस्थापनमा समस्या देखिएको छ ।

photo 20210728 sunsari

photo 20210727 sunsari (2)

Photo 20210727 Sunsari

अन्य

भिडियो