इटहरी उपमहानगरपालिका–१२ की १२ वर्षीया स्वस्तिका राईलाई कुटपिट र यातना दिएको आरोपमा प्रहरीले २५ वर्षीया सौतेनी आमा रेसिका राईलाई साउन ११ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले दिनहुँ कुटपिट गर्ने र यातना दिएको आरोपमा बालिकाकी ५० वर्षीया हजुरआमा पूर्णमाया राईले साउन ११ गते आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएको डिएसपी अर्जुन केसीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको डिएसपी केसीले बताउनु भयो । पीडित बालिकालाई हजुरआमाको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
नेपालको संविधान २०७२ ले धारा ३९ मा बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ । सोही धाराको उपधारा ७ मा कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारिरीक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन भनि उल्लेख गरिएको छ ।