तराई मधेसमा बसोबास गर्ने अति पिछडिएको दलित मुसहर समुदायले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा पाउनु पर्ने माग राख्दै फागुन ८ गते जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार मुसहर समुदायले फागुन ८ गतेदेखि देशव्यापी रूपमा नै ‘जग्गा आन्दोलन’ सुरु गरेर आफूले भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा पाउनु पर्ने भन्दै माग गरेका हुन् ।
देशभर १२ लाखभन्दा बढी जनसङ्ख्या रहेकामा ९५ प्रतिशत मुसहर अहिले पनि भूमिहिन रहेको बताइएको छ । मुसहर समुदायले भोग चलन गर्दै आएको जग्गाको लालपूर्जा पाउनु पर्ने माग राख्दै फागुन ८ गते देशका १५ वटा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।
उनीहरूले महोत्तरी, धनुषा, सिरहा, सर्लाहीऽ सप्तरी, सुनसरी, पर्सा, बारा, रौतहट, उदयपुर, सिन्धुली, मोरड., झापा, नवलपरासी र काठमाडौँलगायत १५ वटा जिल्लाका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाउँदै भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा माग गरेका हुन् ।
मुसहर समुदायले जग्गा उपलब्ध गराउन सरकारसँग माग गरेतापनि बेवास्ता गरेकाले नेपाल राष्ट्रिय मुसहर सङ्घको अगुवाइमा जग्गा आन्दोलन सुरु गरेको सङ्घका अध्यक्ष चन्देश्वर सदा मुसहरले बताए ।
इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार पुस्तौँदेखि जग्गाविहीन रहेका सप्तरीका विभिन्न गाविसबाट आएका मुसहर समुदायका प्रतिनिधिले फागुन ८ गते जग्गा माग्दै राजविराजमा प्रदर्शन गरेका छन् ।

मुसहर समुदायले वर्षौँ देखि घर बनाई भोगचलन गरिरहेको जग्गाको लालपुर्जा आफ्नो नाममा दर्ता गरिदिन, दिनाभद्री र शबरीमाताको नाममा रहेको जग्गा उपलब्ध गराउन र मुसहर आयोग गठन गर्न माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
राष्ट्रिय जनगणना ०६८ ले सप्तरीमा मुसहरको जनसङ्ख्या ३ लाख देखाएको छ । नेपालको २४ जिल्लामा बसोबास गरिरहेका ९५ प्रतिशत भूमिहिन मुसहरहरूको जनसंख्या १२ लाख रहेको नेपाल राष्ट्रिय मुसहर सङ्घले दावी गरेको छ । दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने अधिकांश मुसहरहरू नागरिकता र जग्गाविहीन रहेको सङ्घका जिल्ला संयोजक रामेश्वर सदाले बताए ।
