INSEC Online

📅 २०८३ जेष्ठ २१

आन्दोलनमा आएका महिलामाथि प्रहरीद्वारा हातपात

खानेपानीको मुहानका विषयमा जिल्ला प्रशासन कार्यालयमा आन्दोलित सिमकोट गाउँपालिका-८ स्याँडाका महिलाहरू माथि प्रहरीले साउन ३ गते  हातपात गरेको छ ।

आफ्नो क्षेत्रमा पर्ने बनौर्या कालच्या खोला खाने पानीलाई सिमकोट गाउँपालिका-७ धारापोरीमा ल्याउन नदिने भन्दै वडा नम्बर ८ का महिलाहरूलाई  प्रहरीले हातपात गरेको सिमकोट गाउँपालिका-८ स्याँडाकी ३३ वर्षीया जुना बुढाले गुनासो गर्नु भयो ।

‘वडा नम्बर ८ स्याँडाको पानी ७ नम्बर धारापोरीमा ल्याउने विषयलाई लिएर विवाद हुँदा स्याँडा गाउँका महिलाहरूले आफ्नो सामुदायिक वन क्षेत्रबाट नियम विपरीत पानी लिन खोज्दा आमा समूहले बिरोध गर्दै जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराउन आएका हौं’ बुढाले भन्नुभयो ।

20210720 Humla 2

आफूहरूलाई जानकारी नै नदिएर सिमकोट-७ र ८ का वडाध्यक्ष बीच जिल्ला प्रशासन कार्यालयममा असार १७ गते खानेपानी ७ नम्बर वडामा लैजान पाउने सहमती गरेको र उक्त सहमति कार्यान्वयन हुन नदिने आमा समूहका अध्यक्ष सम्झना बुढाले जानकारी दिनु भयो ।

पुर्खौंदेखि भोगचलन गर्दै आएको जग्गा र स्रोत माथि वडा नम्बर ७ धारापोरीका नागरिकले हकदावी गर्न खोजेकोले आफूहरू आन्दोलनमा आउँदा प्रशासनको गेटमा नपुग्दै प्रहरीले धरपकट र हातपात गरेको उहाँले आरोप लगाउनुभयो ।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले आन्दोलनका क्रममा सामान्य धरपकट हुनसक्ने तर हातपात नभएको बताउनु भयो ।

दुवै वडाका अध्यक्ष सहितको बैठकबाट विवाद समाधानको लागि प्रयास गरिने प्रजिअ आर्चायको भनाई छ ।

m

अन्य

भिडियो