INSEC Online

📅 २०८३ जेष्ठ २१

द्वन्द्वपीडितलाई निशुल्क उपचार सुरु

सशस्त्र द्वन्द्वका क्रममा घाइते भएका पीडितहरूको निशुल्क उपचार सुरु भएको छ । शान्ति कोषको सहयोगमा राप्ती उपक्षेत्रीय अस्पताल घोराहीले फागुन ८ गतेदेखि छुट्टै उपचार कक्षको स्थापना गरी द्वन्द्वपीडितहरूको उपचार सुरु गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जनार्दन पन्थीले जानकारी दिए ।

Photo20170219Dang

सशस्त्र द्वन्द्वमा परेर अङ्गभङ्ग भएका, ढाड दुख्ने तथा नशासम्बन्धी उपचार गरिने डा. ओमप्रसाद अर्यालले बताए । अस्पतालबाट दाङलगायत राप्तीका पाँचवटै जिल्लाका पीडितहरूको उपचार गरिने पनि डा. अर्यालले बताए । स्थानीय शान्ति समितिको सिफारिसमा पीडितहरूको निशुल्क उपचार गरिने अस्पतालले जनाएको छ । एकवर्षभित्र सबै घाइतेहरूको उपचार गरिने जनाइएको छ ।

डा. अर्यालले घोराही नपा-१ सर्राका ३४ वर्षीय पूर्व लडाकु गङ्गाबहादुर नेपालीको उपचार गरी सेवाको आरम्भ गरेका थिए । सेवा शुभारम्भको दिन दुई जना राज्यपीडित र एक जना माओवादी पीडित गरी तीन जनाको स्वास्थ्य जाँच गरिएको छ ।

पहिलो दिन सेवा लिनेमा नेपालीसहित घोराही नपा-१० का ४२ वर्षीय पूर्व प्रहरी हवल्दार भिमबहादुर वली र घोराही नपा-४ चौघेराका ४१ वर्षीय यमप्रसाद बेलवासे छन् ।

Photo20170219Dang1

दुईजनाको शरीरमा बमको छर्रा रहेको र एकजनाको दाहिने गोडा नै नभएकाले कृत्रिम गोडाका लागि प्रक्रिया थालिएको डा. अर्यालले बताए । स्थानीय शान्ति समितिका अनुसार दाङमा झण्डै ६ सयको हाराहारीमा पीडितहरूको उपचार गरिनेछ । ३ सय ७ जनाको उपचारका लागि कार्यदलले नै पहिचान गरिसकेको स्थानीय शान्ति समिति दाङका संयोजक नेत्रप्रकाश पाण्डेले बताए ।

अस्पतालले निशुल्क औषधि उपचार र एकजना कुरुवाका लागि बस्ने, खाने तथा लाग्ने यातायातको व्यवस्थासमेत गरेको छ । स्वास्थ्य उपचारका लागि दाङमा १ करोड, ४६ लाख ४८ हजार रुपियाँ वजेट आएको अस्पतालले जनाएको छ ।

अन्य

भिडियो