१७ वर्षीया बालिकालाई बलात्कारको भन्दै इन्सेकको पहलमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय कास्कीमा असार ३० गते उजुरी दर्ता गराएका छन् ।
आरोपित जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी जवान माछापुच्छ्रे गाउँपालिका–९ खोराको मुख बस्ने २५ वर्षीय राजन सुनारविरुद्ध इन्सेक गण्डकी प्रदेश कार्यालय र कोपिला नेपाल सहितको टोलीको पहलमा जिल्ला प्रहरी कार्यालय कास्कीमा असार ३० गते उजरी दर्ता गरिएको छ ।
पीडितलाई आरोपितले पहिलोपटक ०७६ चैत्र २७ गते बिहान बलात्कार गरी ०७७ वैशाख २३ गते आफ्नो घर लगेर टिकाटालो समेत गरेका थिए ।
केही समयसँगै बसेका आरोपितले बालविवाह भएकाले घटना बाहिर नल्याउन भन्दै पीडितलाई पोखरा महानगरपालिका–१६ बाटुलेचौर स्थित डेरामा राखेर पटकपटक बलात्कार गर्नुका साथै पीडितको ०७७ भदौं र ०७७ फागुनमा जबरजस्ती गर्भपतन गराएको पीडित पक्षले आरोपितविरुद्ध दिएको उजुरीमा उल्लेख रहेको छ ।
०७८ बैशाख महिनामा तेस्रो पटक गर्भवती भएकी पीडितलाई आरोपितले प्रहरीको ठुलो ब्यक्तिसँग आफ्नो पहुँच भएको भन्दै डर देखाएपछि पोखरा १ स्थित सेती नदीको पुलबाट आत्महत्याको प्रयास गर्दा गर्दैको अवस्थामा वडा प्रहरी कार्यालय वगरको प्रहरी टोलीले उद्धार गरी मनोपरामर्शका लागि कोपिला नेपाल पठाएपछि घटना बाहिर आएको थियो ।
केही हप्ताको मनोपरामर्शपछि बालिकाले घटना बारे खुलाएसँगै कोपिला नेपालले बालिकाको तर्फबाट आरोपितविरुद्ध प्रहरीमा जाहेरी दिन जिल्ला प्रहरी कार्यालय कास्की पुगेपछि प्रहरीले उजुरी लिन मानेका थिएनन् ।
प्रहरीले उजुरी लिन नमानेपछि असार २९ गते इन्सेक, राष्ट्रिय मानवअधिकार आयोग र कोपिला नेपालबिच बैठक बसि उजुरी दिने विषयमा सयुक्त पहल गर्ने निर्णय भएको थियो ।
सोही छलफलपछि असार ३० गते इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेल सहितको टोलीले जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत दिपक केसीलाई भेट गरी घटना बारे जानकारी गराउँदै जाहेरी नलिनुको कारणबारे जानकारी लिनुभएको थियो ।
प्रहरी अधिकृत केसीले उजुरी लिने सम्बन्धमा कुनै समस्या नरहेको र केही प्रक्रिया मात्र नमिलेको बताउनुभयो ।
इन्सेक संयोजक खकुरेलले तत्काल उजुरी दर्ता गराउन भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपसी सुवास हमालसँग अनुरोध गर्नुभएको थियो ।
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा करणी सम्बन्धी कसुर मा परिच्छेद १८ को २१९(२) का अनुसार ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिइ करणी गरेमा वा मञ्जुरी लिएर भएपनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ भनी उल्लेख रहेको छ ।
छलफलपछि प्रहरीले असार ३० गते पीडित पक्षको उजुरी दर्ता गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालका अनुसार आरोपितलाई हालसम्म गिरफ्तार नगरिएको तर घटनाको अनुसन्धान भइरहेको बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण पश्चिमाञ्चल क्षेत्रीय अस्पताल असार ३० गते गरिएको छ ।