महादेवा गाउँपालिका–६ ढिकलीकी घरेलु हिंसा पीडित २१ वर्षीया ज्योती साहलाई घाइते अवस्थामा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले असार ३० गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गराउनु भएको छ ।
घाइते भएर राजविराज आउनु भएकी ज्योतीले ५० वर्षीय ससुरा श्रीलाल साह, ४५ वर्षीया सासू दुर्गादेवी साह र २२ वर्षीया नन्द रुबी साहले असार ३० गते कुटपिट गरेको भन्दै इन्सेक प्रतिनिधिलाई फोन गरी सहयोग माग्नु भएपछि उपचारार्थ अस्पताल भर्ना गराएको पोखरेलले बताउनु भयो ।
पीडितको शरीरभरी निलडाम र कानमा चिथोरिएर रक्ताम्य भएको थियो । पीडित महिलाको उपचार इन्सेक प्रतिनिधिको पहलमा निःशुल्क गरिएको छ ।
महिनावारी भएर पेट दुखेकाले दिउँसो सुतेको बेला आरोपितहरूले सुतेर खाने भन्दै कुटपिट गरेको पीडितले बताउनु भयो । पीडितका २८ वर्षीय पति पिकेश्वर साह हाल काठमाडौँमा व्यापार गर्ने गरेको पीडितले बताउनु भयो ।
सामाजिक परम्परा अनुसार ०७४ वैशाख ११ गते विवाहिता पीडितको साढे एक वर्षीय छोरा छन् ।
ज्योतीको स्याहारका लागि सिरहा जिल्ला लहान नपा–२० हरिनगराबाट पीडितकी आमा र बुबा साँझ राजविराज आइपुग्नु भएको छ ।
घरेलु हिंसाबारे पीडितकी आमा सुनिता साहले जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा असार ३० गते उजुरी दिनु भएको छ ।
सेवा केन्द्रका सई गङ्गाराम चौधरीले असार ३१ गते पीडितको घाउजाँच परीक्षण गराउने बताउनु भएको छ ।
यसअघि पीडितले घरेलु हिंसा भएको भन्दै ०७५ फागुन २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । पटक–पटकको प्रयासमा ०७५ चैत २० गते सहमति भएको थियो ।