बनगाड कुपिण्डे नगरपालिकाको वडा कार्यालयहरूमा कार्यरत १२ जना कर्मचारीले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।
बनगाड कुपिण्डे नगरपालिका प्रमुख गोविन्द पुनले ६ महिनाअघि गरेको निर्णयमा त्रुटि भएकाले कर्मचारीले तलब खान नपाए पनि कर्मचारी तलबबाट वञ्चित नहुने बताउनुभयो ।
नगरपालिकाले विभिन्न बहाना बनाउँदै तलबबाट वञ्चित गरेको सामाजिक परिचालक डिल्ली बिकले आरोप लगाउनु भयो ।
‘नगरपालिकाले सुरुमा सहायक लेखापाल भनेर नियुक्ति दियो । त्यसपछि सामाजिक परिचालक भनेर नियुक्ति दियो ।’–उहाँले भन्नुभयो–‘पछिल्लो ६ महिनादेखि त तलब पनि दिन छाडेको छ ।’
जागिर सुनिश्चित गर्न नगरपालिकाका प्रमुख गोविन्दकुमार पुनलाई ध्यानाकर्षण पत्र बुझाउनुका साथै पटकपटक छलफल गरे पनि सुनुवाइ नभएको पीडित कर्मचारीहरूको आरोप छ ।
‘कोभिड महामारीको बेलासमेत हामी ज्यानको पर्वाह नगरी काममा खटियौँ । अहिले त्यसको मूल्याङ्कन हुनु त टाढाको कुरा तलबसमेत दिइएन ।’–पीडित कर्मचारी धनबहादुर सुनारले भन्नुभयो ।
इन्सेक प्रतिनिधिसँग कुरा गर्दै उहाँले थप्नु भयो–‘हामीसँगै काम गरेका अन्य कर्मचारीले जोखिम भत्ता पाएका छन् । हामी भने तलब नपाएर रुनु परेको छ ।’
नगरपालिकाका १२ ओटै वडामा कार्यरत १२ जना कर्मचारीले समयमै तलब नपाएपछि वडाका कुनै पनि कामकाज नगरी आन्दोलन गर्ने र नगरपालिकामा तालाबन्दी गर्ने कर्मचारीले चेतावनी दिएका छन् ।
अब बस्ने बैठकले कर्मचारीको कामको मूल्याङ्कन गरेर उनीहरूको जागिरको सुनिश्चितता समेत गर्ने नपरपालिकाका प्रमुख पुनको भनाइ छ ।