INSEC Online

📅 २०८३ जेष्ठ २१

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी, सरकारबाट उपेक्षित हुनु परेको आरोप

जिल्ला कारागारमा भएका कैदीबन्दीहरूलाई सरकारले उपेक्षा गरेको जाजरकोटका कैदीबन्दीले आरोप लगाएका छन् ।

जिल्ला कारागार जाजरकोटको भवनमा कैदी क्षमता १५ जना भएपनि सरकारले आवश्यकता अनुसार भवन नबनाउँदा ६३ जना कैदीबन्दीहरू कोचिएर बस्न बाध्य भएपछि उपेक्षित हुनु परेको आरोप लगाएका हुन् ।

कारागारको व्यवस्थापनबारे कैदी कुशबहादुर महताराले भन्नु भयो–‘यो समस्या हाम्रो मात्रै होइन । पुरै देशको नै हो । सरकारले आवश्यक भवन बनाइदिए अलिकति भएपनि राहत मिल्ने थियो ।’

‘सरकारले हामीलाई विभिन्न सीपमुलक तालिम दिएदेखि हामी यहाँबाट छुटेपछि समाजमा केही राम्रो काम गरेर बस्न सक्थ्यौँ ।’ अर्का कैदी टेकवीर बुढाले भन्नुभयो–‘हामी कैदीबन्दीलाई सबैले नकरात्मक दृष्टिले हेर्ने गर्छन् । हामी यहाँ बस्दा त त्यसै पनि नराम्रो भइन्छ । यहाँबाट निस्किएपछि पनि केही काम पाईएन भने झनै नराम्रो भइन्छ । तसर्थ सरकारले हामीलाई सीपमुलक तालिम दिए हामीलाई सहज हुन्थ्यो ।’

कैदीबन्दीहरुलाई समाजले हेर्ने दृष्टिकोण नकारात्मक भएको बताउँदै एक बन्दीले भने–‘मान्छेबाट जानी नजानी कुनै बेला गल्ती हुन सक्छ । त्यही गल्ती आगामी दिनमा नहोस् भनेर नै मान्छे कारागारमा बसेको हुन्छ । त्यसैले उनीहरूलाई नकारात्मक दृष्टिले हेर्नु उचित हुँदैन ।’

कारागारभित्र कैदीबन्दीले उत्पादन गर्ने सामग्रीहरूको उचित व्यवस्थापनका लागि पनि सरोकारवालाले ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ ।

जिल्ला कारागार जाजरकोटका जेलर तेजविक्रम शाहले सरकारसँग पटकपटक भवन माग गर्दा पनि सरकारले बेवास्ता गरेको बताउनु भयो ।

उहाँले भन्नु भयो–‘कारागारको प्रशासनिक भवन बन्यो तर कैदी थुनुवा भवन नबन्दा निकै समस्या भएको छ । अहिले कोच्चिएर कैदीबन्दी राख्नुपरेको छ । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा विभिन्न समस्या झेल्नुपरेको छ ।’

अन्य

भिडियो